धरान । नेपालमा कोरोना महामारीको दोश्रो लहर तिव्रगतिमा चलेपछि हङकङ सरकारले नेपालबाट आउने हवाई उडानमा प्रतिवन्ध लगाएपछि हङकङ फर्किन नपाएका हङकङको परिचयपत्र लिएका नेपालीहरुलाई उद्धार गर्न हङकङ नेपाली महासंघले माग गरेको छ ।

महासंघले हङकङ सरकारका पुर्वमन्त्री र सांसदहरुलाई नेपालबाट उद्धार गर्न माग गर्दै विहीबार ज्ञापन पत्र बुझाएको हो ।  महासंघका अध्यक्ष टंक रानाका अनुसार महासंघको अनुरोधपछि हङकङको कउलुन जिल्लाको नाथान रोड मङकोकस्थित महासंघको कार्यालयमै आएका हङकङ सरकारका पुर्व मन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत सांसदहरुले ज्ञापन पत्र बुझेका थिए । उनले भने, ‘नेपालका कोरोनाको दोश्रो लहर चलेसंगै हङकङ सरकारले नेपालको हवाई जहाज उडानमा प्रतिवन्ध लगाएपछि हङकङलाई कर्म भूमि बनाएका नेपाली मुलका हङकङ्गे नागरिकहरु विचल्लीमा परेकाले तत्काल उनीहरुको उद्धार गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छौ ।ं’ 

महासंघका पुर्व पदाधिकारीहरु रिता गुरुङ, प्रदीप थापा, हङकङ चेम्बर अफ कर्मसका अध्यक्ष दासुराम पराजुली, समाजसेवी पुस्पा गुरुङ, हेजेन राईलगायतको उपस्थितिमा  हङकङ सरकारलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘हङकङ सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर लकडाउनले नेपालमा रोकिएका हङकङका नागरिकलाई छिटो भन्दा छिटो उद्धार गर्न चार्टर उडानको व्यवस्था गर्न माग गर्दछौं ।’ नेपालको कुल जनसंख्याको २ प्रतिशतले मात्र हालसम्ममा कोभिड खोप लिएकाले पनि असल र ऐतिहासिक सम्बन्ध रहेको छिमेकी भएको नाताले कोभिड खोपको पनि नेपालका लागि अनुदान स्वरुप उपलव्ध गराउन पनि महासंघले माग गरेको छ ।

महासंघका अध्यक्ष रानाले महासंघले बुझाएको ज्ञापन पत्र बुझेपछि पुर्वमन्त्री समेत रहेकी  स्टारी लीलाई उद्यृद्ध गर्दै भने,  ‘यस विषयमा हङकङ सरकार गम्भीर बनेको र नेपालमा विचल्लीमा परेका हंङकङका नागरिकलाई उद्धार गर्नु आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको छ ।’ सांसद भिन्सेन्टले हङकङका नागरिकलाई उद्धार गर्न र कोरोना खोपका लागि नेपाल सरकार र हङकङ सरकार वीच जि टु जी गर्न नेश्नल पिपल कंग्रेस (एनपिसी)मा हङकङको बरिष्ठ लियाजन अफिसर मार्फत समन्वय गरेर नेपाललाई सहयोग गर्न सकिने जानकारी दिएको अध्यक्ष रानाले बताए ।

महासंघले यसअघि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामलाई पनि हङकङका नागरिक कोरोनाका कारण नेपालमा विचल्लीमा परेको बारे पत्र दिएका थिए । तर उनी केही सातादेखि वेइजिङमा रहेकाले पुन हङकङ सरकारका सांसदलाई पत्र बझुाउनु परेको महासंघले जनाएको छ । पुर्व अध्यक्ष प्रदीप थापाले भने, ‘हङकङलाई कर्मथलो संगै त्यहीका नागरिक भएर बसेकाहरुले व्यापार व्याबसाय गर्न वंैक ऋण लिएका छन्, छोराछारीहरु पढाइरहेका छन् । तर लकडाउनले यता न उताका भएका छन् । खोप लागउन पाएका छैनन् । यिनै समस्याबारे हङकङ सरकारलाई महासंघसले औपचारिक जानकारीसहित ज्ञापन पत्र बुझाएको हो ।’

क्यारी ल्यामका प्रमुख सचिव जोन लीले जुलाई १४ भित्र सांसद स्टारी लि र भिन्सेन्ट चेङसंग छलफल गरेर निर्णय गर्ने जानकारी दिएको अध्यक्ष रानाले  बताए । हङकङमा ७० हजार नेपालीहरु हङकङका बासिन्दा भएर बसेका छन् ।

गतसाता मात्र महासंघले नेपालका विकट गाउका कोरोना संक्रमितहरुलाई लक्षित गरेर चिनिया सरकार, हङकङ सरकार, नेपालको महाबाणिज्य दुतावासको समन्वयमा हङकङको गैर सरकारी संस्था सोअर एक्सनले करिव ६ करोड रुपैया बराबरको २ सय थान अक्सिजन कन्सनट्रेटर निशुल्क उपलव्ध गराको थियो । ती मध्ये सय थान कन्सनट्रेटर कर्णाली, सुदुरपश्चिम देखि रामेछाप सम्मका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा वितरण जारी छ ।