बर्तामोड । माछा पोखरीमा पौडी खेल्दा बेपत्ता भएका झापाको अर्जुनधारा नगरपालिका–११ का एक ब्यक्ति १८ घण्टापछि मृत फेला परेका छन् ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको माछा पोखरीमा पौडी खेल्दा उनकै घरमा काम गर्दै आएका ४० बर्षिय माइकल सोरेनको मृत्यु भएको हो ।

आइतबार बेलुकी ५ बजेतिर माछा पोखरीमा पौडी खेल्दै गर्दा सोरेन बेपत्ता भएका थिए । नेपाल प्रहरी र नेपाली सेनाको गोताखोर ल्याएर खोजतलास गर्दा समेत सोरेनको अवस्था थाहा हुन सकेको थिएन ।

लगभग १० फुट गहिरो पोखरीमा बेपत्ता भएका सोरेनलाई राती १२ बजेसम्म खोजतलास गर्दा पनि फेला पार्न नसकिएको मेयर रानाका छोरा प्रत्युस आजाद रानाले जानकारी दिए ।

नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासीले सोमबार बिहान १० सोरेनको शब फेला पारेको उनले बताए । उनले सोरेनको स्थिती थाहा पाउन १८ घण्टा लागेको बताए । मेयर रानाले यसै बर्ष पोखरी निर्माण गरेर माछा पालन शुरु गरेका हुन् ।

मृतक सोरेनकी श्रीमती समेत सोही स्थानमा काम गर्दै आएकी छन् । उनका २ छोरा र १ छोरी रहेका छन् । सोरेनको शब पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।