भद्रपुर । किरात जातिको समाधि स्थलमा मेचीनगर नगरपालिकाले डोजर चलाएपछि त्यहाँका किरात समुदायका बासिन्दा आक्रोशित बनेका छन् ।
आक्रोशित बनेका किरात समुदाय विरोध उत्रिँदै बिहीबार दिउँसो मेचीनगर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्, किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा मेचीनगरले संयुक्त रुपमा सो ज्ञापनपत्र मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मिना पोखरेल उप्रेतीलाई बुझाएका हुन् ।
उनीहरूले सो ज्ञापनपत्रको बोधार्थ मेचीनगर ६ नम्बर वडा कार्यालय, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली काँङ्ग्रेस मेचीनगर समिति, नेकपा माओवादी केन्द्र मेचीनगर, जसपा र राप्रपा मेचीनगर समितिलाई समेत बोधार्थ पठाएको छ ।
मेचीनगर नगरपालिका ६ स्थित मेची पुल दक्षिणी किरात जातिको धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गाँसिएको समाधि स्थलमा नगरपालिकाले बिना सूचना बुधबार बेलुका डोजर चलाएको थियो । डोजरले समाधि स्थल नै पूर्ण रुपमा भत्काइ दिएपछि किरात समुदायका बासिन्दा आक्रोशित बनेका हुन् ।
नगरपालिकाले सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट स्थापनाका लागि किरात जातिको पाँच दशकदेखि रहँदै आएको समाधि स्थलमा डोजर चलाएको हो ।
मेचीनगर पूर्व अध्यक्ष एवम् किरात राई यायोक्खा जिल्ला सचिव केबलराम राईले स्थानीय सरकारले किरात धर्मको आस्थामाथि प्रहार तथा जातीय विभेद गरेकोले न्याय नदिए चरणबद्ध आन्दोलनसँगै कानुनी उपचारको बाटोमा चेतावनी दिएका छन् ।
बर्षौदेखि किरात समुदायले बनाएको समाधि स्थलमा नगरपालिकाले डोजर चलाएर भत्काउनु अघि कसैलाई जानकारी नगराएको बताउँदै नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले बताए नगरपालिकाले त्यसको पूनःनिर्माण गरिदिनु पर्ने माग रहेको उनको भनाइ छ ।
चिर निन्द्रामा रहेका पुर्खाहरूको समाधि स्थलमा नगरपालिकाले डोजर चलाएर के पायो,’ किराँत याक्थुङ चुम्लुङ मेचीनगरका दिलीप जङ्ग सुब्बाले भने, ’समाधि स्थलमा १५० देखि २०० जनाको समाधि राखिएको छ, त्यसलाई भत्काउनु कतिको जायज हो, भत्काउनु अघि हामीलाई एक पटक सोध्नु पर्दैन ।’
यता ज्ञापनपत्र बुझ्दै मेचीनगरका मेयर आचार्यले यस घट्नाले आफुलाई दुःखी बनाएको र यस विषयमा सर्वपक्षीय छलफल गरी वास्तविक कुरा बाहिर ल्याएर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।