इनरुवा। कोरोनाको जोखिम बढेसँगैे सुनसरी नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । त्यसका साथै सशस्त्रले भाण्टाबारी नाका बाहेकको हकमा हुने आवतजावतमा समेत पूर्ण रुपले रोक लगाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार भारतसँग सीमा जोडिएको सुनसरीका नाकामा जनशक्ति थप गरी सुरक्षा तैनाथी बढाइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलका अनुसार सीमा क्षेत्रमा ६ सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान, इटहरी लगायतका क्षेत्रमा रहेको जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालित गरिएको पौडेलले जानकारी दिए ।
सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेका छन् । अघिल्लो पटक झंै सशस्त्रले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सीमामा फरवार्ड पोष्ट समेत थपेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार ९ वटाको संख्यामा फरवार्ड पोष्ट संचालनमा ल्याइएको छ । ति पोष्टमा आवश्यक्ता अनुसारको सुरक्षाकर्मी थप गर्दै लैजाने उनले बताए ।
हेड क्वाटर सुनसरीले सीमा क्षेत्रमा पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाइएको जनाएको छ । उसले रातीको समयमा समेत निगरानी र सर्तकता बढाइएको जनाएको छ ।
त्यसका अलावा भारतीय सुरक्षाकर्मी (एसएसबी) सँगको समन्वय र सहकार्यलाई समेत जोड दिदै सीमामा निगरानी बढाउनुको साथै कडाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । हेड क्वाटर सुनसरीले खुल्ला नाकाबाट हुन सक्ने आवतजावतले कोरोना फैलने र फैलाउन सक्ने भएकाले त्यस्ता गतिविधिमा रोक लगाइएको जनाएको छ ।