विजयपुर । बिहिबार एक्कासी आएको वर्षाको कारण धरान–८ को खहरेखोलामा आएको बाढीले निर्माणाधिन तीन ढ्वाङ्गे करिडोरमा करिव ६ लाख क्षति भएको छ ।

तीन ढ्वाङ्गे करिडोरमा आएको बाढीले निर्माण उद्योगमा काम गर्ने सामाग्रीहरु बगाएर लगेको करिडोर निर्माणका ठेकेदार खगेन्द्र लिम्बूले बताए । बाढीले ३ वटा मिक्स्चर मेसिन, ३ ट्रिपर ढुङ्गा, गिटी, बालुवा,सिमेन्ट, प्लाईलगायत मजदुरले प्रयाेग गर्ने निर्माण उपकरण पनि  बगाएको लिम्बूले बताएका छन्।

बाढीले बिहिबार नै लगाएको १५ घनमिटर वाल पनि बगाएको बताउँदै  उनले भने, ‘धेरै सामाग्री कहाँ पुर्यायो थाँहा छैन्, तीन वटा मिक्स्चर  तीन ढ्वाङ्गे पुलमा रोकियो, तर काम लाग्ने अवस्थामा छैनन् ।’ उनले काम गर्दा गर्दै एक्कासी खहरे उर्लिएर आएपछि समान निकाल्न नपाएको बताएका छन्।

उनले भने, ‘बाढीले आँखा अगाडि हेर्दाहेर्दै बगाएर लग्यो निकाल्न सकिएन ।’ करिडोर निर्माणको करिव ८० प्रतिशत काम भइसकेको दावी गरेका लिम्बुले काम सम्पन्न हुनेबेलामा काम गर्ने सामग्री नै बगाएर लगेकाले पुन: काम सुचारू गर्न ३ दिन लाग्ने बताएका छन् ।