ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा प्रहरी र युवाबीच विवादपछि भएको खिचातानीमा प्रहरीको गोली चल्दा एक युवाको मृत्यु भएको छ । युवाको मृत्युपछि निस्किएको प्रदर्शनले उग्र रुप लिएको छ । 

प्रहरीको गोलीले ती अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन् ।

२० वर्षीय डन्टे राइटलाई आइतबार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेको थियो ।

त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन् ।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन् ।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् ।

मिनसोटाका प्रहरी प्रमुख टीम गानन्ले उक्त घटना ‘एउटा दुर्घटना’ भएको संवाददाताहरूलाई बताए ।

उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन् ।

तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन् ।

अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन् ।

सोमबार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए ।

उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ । 

त्यसपछि एकजना अधिकारीले ‘टेजर, टेजर, टेजर’ भनेको सुनिन्छ ।

ती भनेका एकखाले अचेत बनाउने बन्दुकबाट प्रहार गर्नुअघि भनिने शब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ ।

त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन् ।

त्यसबेला तिनै अधिकारीले ‘मैले उसलाई गोली हाने’ भनेको भिडिओमा सुनिन्छ । गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए ।

गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ ।

सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए ।

प्रदर्शन र कर्फ्यु

राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतबार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन् ।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालय अघि धर्ना दिएका छन् ।

रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ ।

प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए । पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ ।

स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ ।

मिनिआपोलिस र सेन्ट पलमा आइतबार र सोमबार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन् ।

तर उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए ।