धरान । सुनसरीका १२ वटै स्थानीय तहका सरकार प्रमुखहरूसँग मुस्लिम आयोगले अन्तरक्रिया गरेको छ । 

इनरूवास्थित जिल्ला समन्वय समितिको सभाहलमा मुस्लिम आयोगले स्थानीय सरकार प्रमुखहरूसँग मुस्लिम समुदायको सशक्तिकरणको यो विषयमा कसरी समन्वयात्मक ढङ्गले अगाडि बढ्नेबारे यो अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले आफूले २०५२ देखि नै मुस्लिम समुदायको सशक्तिकरण र विकासमा लागेको बताउँदै मुस्लिम महिलाको शिक्षामा जोड दिए । उनले भने, ‘नेपाल बहुसांस्कृतिक मुलुक हो । मुस्लिम समुदायको विकास बिना देशको विकास हुन सक्दैन ।’

मुस्लिम आयोग र स्थानीय निकायबीच समन्वय गरेर मुस्लिम समुदायको विकास र सशक्तिकरणमा स्थानीय निकाय प्रमुखहरूसँग सहकार्य गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रम राखिएको आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीले बताए । उनले भने, ‘सुनसरीमा देशकै सबैभन्दा ठूला र सबैभन्दा धेरै मदरसाहरू भएकोले यहाँका पालिकाहरू मदराको विकासका लागि झन् बढी गम्भीर हुनुपर्छ ।’ 

कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम आयोग संवैधानिक अङ्ग भएकोले यसले एउटा फ्रेममा काम गर्ने गरेको र आयोग चुकेको ठाउँमा खबरदारी गर्नुपर्ने बताए । 

खबरदारी गर्नेले आयोगलाई शक्तिशाली बनाउन रचनात्मक सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘गाउँपालिकाहरूले मुस्लिम समुदायका दरसा, मस्जिद, ईदगाह र कब्रिस्तान आदिको लागि नियमित बजेट बिनियोजन गर्नुपर्छ ।’

आयोगका अध्यक्ष अन्सारीले प्रधानमन्त्रीले ईद र बक्रईदको बिदा पुनस्र्थापना गर्न आदेश दिइसकेको र उक्त दिनहरूमा देशभरका कार्यालयहरू बन्द हुने गरी बिदा हुने बताए ।

आयोगका सदस्य मोहम्मदीन अलीले आयोग मुस्लिम अधिकारको विषयमा गम्भीर भई काम गरिरहेको र स्थानीयस्तरमा पालिकाहरूसँग सहकार्य गर्न चाहेको विषयमा प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरे । कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकार उमेश ढकालले मुस्लिम समुदायको उत्थान, विकास र सुरक्षाको विषयमा आफू सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा मुस्लिम आयोगकी सचिव सुनिता नेपालले मुस्लिम समुदायको अवस्था र आयोगको गतिविधि र रणनीतिक योजनाबारे कार्यपत्र प्रस्तुत गरिन् ।

कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रसाद चौधरी, हरिनगर गापाका अध्यक्ष गफ्फार अन्सारी, कोशी गापाका अध्यक्ष ऐयुब अन्सारी, कोशीका उपाध्यक्ष अनिता यादवलगायतले मन्तव्य राख्नुका साथै सहभागीहरूले विभिन्न सवालहरू राखे । आयोगका अध्यक्ष अन्सारीले उठेका सवालहरूको उत्तर दिँदै आयोग जनताकै सुझावबाट अगाडि बढ्ने बताए ।