धनकुटा। धनकुटा बजार र आसपासको क्षेत्रका वनमा दुई दिन अघिदेखि लागेको भीषण डढेलो आइतबार साँझसम्ममा पनि नियन्त्रणमा आएको छैन । डढेलोबाट हालसम्म चार घर जलेर नष्ट भएका छन् ।
धनकुटा नगरपालिका वडा नं. ८ को टेकुनाला क्षेत्रबाट शनिबार दिउँसो सल्किएको डढेलोबाट वडा नं.७ र ८ को चुलीवन पर्यटकीय क्षेत्र, मगर बस्ती र आसपासका गाउँ अझै पनि जोखिममा रहेका छन् । स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर र गोठ जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
जोखिममा रहेका अन्य घरबस्ती जोगाउन शनिबार अपरान्हदेखि धनकुटाका २ सहित धरान, विराटनगर, दमक, तेह्रथुमको लालीगुराँस नगरपालिकाको सहित ६ वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सन्तु देशवारले जानकारी दिए । अहिले पनि धनकुटा–७ चुलीवन, रानीवन, स्वारिफा डाँडा, याक्ते, पेलेक्पाङको माथिल्लो भेग, साङ्ताङको माथिल्लोभेगमा डढेलो लागिरहेको छ ।
डढेलोले भीषण रूप लिएपछि जिल्ला सदरमुकाम धनकुटा बजार र स्थानीयबासी त्रासमा छन् । आगो निभाउनको लागि आधा दर्जन दमकल त भेला भएका छन् तर, डढेलो लागेको जङ्गलसम्म जाने बाटो नहुँदा आगो नियन्त्रण गर्न सकेका छैनन् । बजार क्षेत्रमा आगो सल्किने हो कि भनेर दमकल तैनाथ गरिएको धनकुटा नगरपालिका कार्यालयले जनाएको छ ।
आगो नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सयौं जनशक्ति परिचालन गरिएको छ । यस्तै स्थानीयबासी समेत आगो नियन्त्रणमा खटिएका छन् । हावाको वेग उच्च रहेकोले क्षति बढी भएको धनकुटा–७ का वडाध्यक्ष जङ्गबहादुर राईले बताए । २ घर जल्दा लाखौंको क्षति भएको अध्यक्ष राईले बताए ।
त्यसैगरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ मा डढेलोको कारण आइतबार २ वटा घर जलेर नष्ट भएका छन् । त्रिवेणी सामुदायिक वनमा शनिबारदेखि लागेको डढेलोका कारण नरबहादुर बोगटी र उनका छोरा राजबहादुर बोगटीको टिनको छाना भएको काठको एउटा र फुसको छाना भएको ढुङ्गा–माटोले बनेको अर्कोे घर पूर्णरूपमा जलेको वडा नं. १ का वडासदस्य सोमबहादुर राना मगरले जानकारी दिए । आगलागीका कारण बाबुछोराकै गोठ, बाख्राको खोर र ४ वटा बाख्रासमेत जलेको उनले बताए ।
घरमा रहेको भाँडावर्तन, लत्ताकपडा, खाद्यान्नसहितका सामग्री जल्दा जम्मा ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकहाँ बसेका छन् । उनीहरूलाई गाउँपालिकासँग समन्वय गरी राहत उपलब्ध गराइने वडासदस्य मगरले बताए ।
त्रिवेणी सामुदायिक वनदेखि सुरु भएको डढेलो अहिले खैरेनी सामुदायिक वनको बीच भागमा पुगिसकेको छ । डढेलो नियन्त्रणका लागि स्थानीयसहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीको कारण नियन्त्रणमा आउन सकेको छैन ।