धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा बजारनजिकै रहेको नेवारी समुदायको समाधिस्थल भत्काइएको घट्नाप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्य परिषद धनकुटाले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
यसैबीच सोमबार सिधुवा बजार नेवार समाजले चिहान भत्काउने मुख्य योजनाकार रामबहादुर भनेर चिनिने डम्बरबहादुर थापा र तिनका मतियारहरुलाई विपक्षी बनाएर कानुनी कार्बाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी दर्ता गराएका छन् ।
सिधुवा बजार र आसपासको क्षेत्रमा बसोबास गरिरहेका नेवारी सुमदायले २ सय वर्ष अघिदेखि प्रयोग गर्दै आएको चिहानडाँडा डोजर लगाएर भत्काइएको महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले बताए ।
निजी स्वार्थको लागि कोही कसैले खोल्न लागेको कृषि फर्मसम्म जान मोटरबाटो खन्ने बहानामा २ सय वर्ष लामो इतिहास बोकेको समाधिस्थल आक्रमण गर्नु निन्दनीय कार्य भएको महासंघको धारणा छ ।
चिहानडाँडा डोजर लगाएर भत्काउने क्रममा चिहानभित्रका कंकालहरु स्थानीय तेलिया खोलामा फालेर खानेपानीको मुहान दुषित बनाउने कार्य भएको महासंघ अध्यक्ष राईले बताए ।
स्थानीय नेवार समुदायले शनिबार विज्ञप्ति जारी गर्दै चिहान उत्खन्न् गर्ने कार्यमा संलग्न स्थानीय रामबहादुर थापा भनिने डम्बरबहादुर थापालाई कारबाहीको माग गरेका छन् ।
सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् नेवार समाजका अध्यक्ष शिवकुमार श्रेष्ठले नेवारहरुको वि.सं.१९०० साल भन्दा अघिदेखि सिधुवाका नेवारी समुदायले प्रयोग गर्दै आएको ऐतिहासिक र पुरातात्विक समाधिस्थलमाथि आक्रमण गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताए ।
वर्षौदेखि समाधिस्थलको रुपमा चर्चिंदै आएको सार्वजानिक चिहानडाँडा भनेर वि.संं. २०३१ सालमा नापीमा कायम गरिएको प्रमाण मालपोत कार्यालयमा रहेको श्रेष्ठले बताए । समाधिस्थल छथरजोरपाटी गाउँपालिकामा पनि सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ ।
चिहान डाँडा खन्ने पक्षले भने दर्शन बहुउदेश्यीय एग्रो कृषि फार्म खोलेकाले मुख्य सडकसँग जोड्न सडक विस्तार गर्दा चिहान डाँडा खनिएको बताए । फार्म सञ्चालक थापाले सडक खन्ने क्रममा चिहान भत्किएको स्वीकार गरेका छन् ।
कृषि फार्म नेपाली कांग्रेसका धनकुटाका नेता घनेन्द्रराज श्रेष्ठ र इटहरी बस्दै आएका गोकुल सुवेदीसमेत मिलेर सञ्चालन गरिएको थापाले जानकारी दिएका छन् । घटनाको विषयमा नेपाली कांग्रेसका नेता घनेन्द्रराज श्रेष्ठले तेलिया खोलामा नयाँ घाट निर्माणका लागि चिहान डाँडा हुँदै मोटर बाटो खनिएको प्रतिक्रिया दिए ।
आदिवासी जनजाति महासंघ छथरजोरपाटी गाउँसमन्वय परिषदको समन्वयमा नेवार समाज सिधुवाले चिहानडाँडा भत्काउने कार्यमा लागेकालाई कानूनी कार्बाहीको माग राख्दै सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले चिहानडाँडा भत्काइएको विषयमा समुदायका तर्फबाट लिखित उजुरी परेकाले कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
घटनाको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले समेत निन्दा एवम् भत्र्सना गरेको सचिव नगेन्द्र कश्चितले जानकारी दिए ।