भण्टाबारी। सप्तरीबाट कीर्ते गरी नेपाली नागरिकता लिएका भारतीय नागरिक राजकुमार सिंहका नक्कली बाबु पनि भारतीय नै रहेको खुलेको छ । कीर्ते नागरिकता बनाउन सिंहका नक्कली बाबु बनेका ठाकुर प्रसाद सिंहसमेत भारतीय नागरिक नै रहेको खुलेको हो ।

कीर्ते गरी नेपाली नागरिकता दिलाउन नक्कली बाबु बनेका ठाकुरप्रसाद सिंहसमेत भारतीय नागरिक नै भएको प्रमाण ब्लाष्ट टाइम्सले फेला पारेको छ । विधानसभा निर्वाचन क्षेत्र बिहारको निर्वाचक नामावलीको ३८० नम्बरमा ठाकुरप्रसाद सिंहको नाम उल्लेख छ । उनको भने मृत्यु भइसकेको बताइएको छ ।

यतिमात्र होइन, कीर्ते गरी नेपाली नागरिकता दिलाउन सनाखतमा बसेका बलरामप्रसाद सिंहसमेत भारतीय नै भएको प्रमाण फेला परेको छ । २०४६ साल वैशाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुटो विवरण पेश गरी राजकुमार सिंहले नेपाली नागरिकता लिएका थिए । सिंह लागूऔषध मुद्दामा अहिले कारागारमा छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध मुद्दामा थुनामा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाइएको बताए पनि यसबारे प्रहरीले तदारुकता नदेखाएको स्रोतको दाबी छ । मङ्सिर १९ गते धरानबाट ७७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला अदालत सुनसरीले फागुन २५ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस–२ (हाल महादेवा गाउँपालिका–१) जन्मस्थान भएको भनी ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा उक्त स्थानका स्थानीयवासी भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउँछन् । साविक पकरी गाविसका ९ वटा वडा समावेश गर्दै महादेवा गाउँपालिका–१ बनेको हो ।

साविकको पकरी गाविस–२ मात्रै नभई ९ वटै वडामा सिंह थर गरेका समुदायको बसोबास नरहेको महादेवा गाउँपालिका–१ का वडाध्यक्ष जयश्वरकिशोर दास बताउँछन् । ‘हामी पुस्तौंदेखि यहीँ बसोबास गर्दै आएका छौं’ उनले भने, ‘यो क्षेत्रमा सिंह थर गरेका व्यक्तिको बसोबास थिएन र छैन ।’

राजकुमार सिंह नाम गरेका व्यक्तिको आफन्त वा जग्गा जमिन केही साविकको पकरी गाविस क्षेत्रमै भएको बारे आफूलाई थाहा नभएको दासको दाबी छ । ‘राजकुमार सिंह गरेका व्यक्तिको नाम पहिलोपटक सुनेको हुँ’ उनले भने, ‘साविकको पकरी–२ बाट के कसरी नेपाली नागरिकता लिएका हुन्, त्यो मलाई थाहा भएन ।’ प्रहरी प्रशासनलाई आवश्यक भएको अवस्थामा सक्दो सहयोग गर्न आफू जनप्रतिनिधिको हैसियतले तयार रहेको वडाध्यक्ष दासको कथन छ ।

ब्राउनसुगरसहित पक्राउ परेका सिंह एउटा मुद्दामा कारागारचलान भए पनि अर्को मुद्दामा बच्न चलखेल गरिएको स्रोतको दाबी छ । लागूऔषध मुद्दामा थुनामा रहेका भारतीय नागरिक सिंह नागरिकतासम्बन्धी कसुर गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को दफा ९ को उपदफा (२) बमोजिम कारबाही अगाडि बढाउन जिल्ला अदालत सप्तरीले समेत अनुमति दिएको थियो ।

सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वडा नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका वास्तविक बाबुको नाम रामबालक सिंह हो । कीर्ते गरी नेपाली नागरिकता लिएका उनको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो ।

उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आमनिर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको हो । २०२१ फेब्रुअरी ५ तारिखमा उनको भारतीय निर्वाचन आयोगमा मतदाता परिचय–पत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको थियो ।