सुनसरीको वराहक्षेत्र नगरपालिका १ स्थित कटहरेका आगलागी पीडितलाई राहत खाद्यान्न प्रदान गरिएको छ ।
नेकपा एमाले वराहक्षेत्र नगरकमिटीका सदस्यहरुसँगै अग्नीपीडित चन्द्रबहादुर राईको घरमा पुगेका नगर प्रमुख निलम खनालले खाद्यान्न प्रदान गरेका छन् ।
गत सोमबार कटहरेका स्थानीय चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा घरलगायतका भौतिक सामग्री जलेर नष्ट भएको थियो ।
राहत प्रदान गर्न पुगेका नगर प्रमुख खनालले वस्तुस्थिति निरीक्षण गरेका छन् । अग्नीपीडित राईलाई आवश्यक पर्ने थप खाद्यान्न तथा राहत उपलब्ध गराउने खनालले प्रतिबद्धता व्यक्त गरे ।
राहत प्रदान गर्ने क्रममा एमालेका वराहक्षेत्र नगर कमिटी सदस्य तथा कार्यपालिका सदस्य पोसबहादुर बोगटीले नगद ५ हजार प्रदान गरेका छन् । यस्तै वराहक्षेत्र १ का नेकपा एमालेका सचिव मनोज श्रेष्ठले नगद २ हजार, नेकपा एमालेका रमेश कट्वालले काठमाडौंबाट १० हजार रुपैयाँ प्रदान गरेको नेकपा एमाले वराहक्षेत्र १ नं. वडा सदस्य क्रिस्टिना ताम्राकारले जानकारी दिइन् ।
उनका अनुसार नेकपा एमाले वडा पार्टीको पहलमा हालसम्म १३ हजार ५ सय रुपैयाँ रकम संकलन गरिएको छ । राहत रकम पार्टी सदस्यलगायतबाट उठाउने क्रम चलिरहेको छ । ताम्राकारले भनिन्, ‘आगलागीमा उहाँको धनमाल सबै जलेको हाम्रै पहलमा उहाँलाई घर निर्माण गरिदिने अभियानमा लागेका छौं, पहिले खाद्यान्नलगायत राहत संकलन गरेका हौं ।’
आगलागीका कारण पीडित राईको परिवारका विद्यालय जाने बालबालिका समेत प्रभावित भएका छन् । उनीहरुका किताब, कापी र लुगाकपडा सबै जलेका छन् । ‘विद्यार्थीहरुको शैक्षिक सामग्री र लत्ताकपडाको पनि चाँडै व्यवस्था गर्ने र स्कुल जाने वातावरण चाँडै तयार गर्ने गरी लागेका छौं ।’ पार्टीकी वडा सदस्य क्रिस्टिना ताम्राकारले भनिन् ।