विजयपुर । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ धरानले जनजाति महिलालाई ५ दिने फूलको व्यावसायिक नर्सरी तालिम मङ्गलबारदेखि सुरु गरेको छ । 

धरान–७ स्थित क्यामेलिया नर्सरीमा सुरु भएको  तालिममा २५ जना महिला सहभागी रहेको महासङ्घ धरानकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । धरानका १३ जना जनजाति समूहका महिलाहरूको सहभागिता रहेको बताइन् ।

५ दिन सञ्चालन हुने तालिममा क्यामेलिया नर्सरीका सञ्चालक राजेश राई, धरान–२० एभरेष्ट नर्सरीका सञ्चालक युमिनहाङ राईले सहजीकरण गर्नेछन् ।

तालिम धरान उपमहानगरको सामाजिक विकासअन्तर्गत महिला लक्षित कार्यक्रमको १ लाख बजेटबाट आयोजना गरिएको अध्यक्ष प्रधानले जानकारी दिइन् । 

तालिममा फूलका बिउ  छर्नेसम्बन्धी, बिरुवाको कटिङ गर्ने, छाटकाँट, कलमी (ग्राफ्टिङ)  सम्बन्धी र घर, कार्यालय सजाउने कसरी उत्पादन गर्ने र केयरिङ सिकाउने प्रशिक्षक राजेश राईले बताए ।

तालिमको उद्घाटन धरान उपमहानगर सामाजिक विकास महाशाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले गरिन् । तालिम यही चैत १४ गतेसम्म सञ्चालन हुनेछ ।