विराटनगर । प्रहरी जवान ज्ञान बहादुर बस्नेत र अशोक राई सर्वोउत्कृष्ट प्रहरी घोषित भएका छन् । मोरङको प्रहरी चौकी कर्सिया दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत अशोक राई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
जवान बस्नेत मोरङ प्रहरीमा अनुसन्धानमा अब्बल प्रहरीको सूचीमा पर्दछन् । उनले जिल्लामा घटिएको जघन्य प्रकृतिको घटनाको अनुसन्धानमा गहन रूपमा अनुसन्धान गरि अभियुक्त पक्रिन सक्रिय भएर लागि परेका छन् । उनी यसअघि पनि प्रदेश प्रहरी कार्यालयले सर्वोउत्कृष्ट प्रहरी घोषित भइसकेको छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको बस्नेत र राईलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।
उनीहरूले कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । ‘आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले राई र बस्नेतलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो,’ सम्मान पत्रमा उल्लेखछ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।