नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित मोतीराम पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको छ ।
पत्रकार महासंघ झापा शाखाले हरेक तीन वर्षमा प्रदान गर्ने अर्को पुरस्कार ‘केटो’ पत्रकारिता पुरस्कार पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिएको छ ।
शनिबार झापाको बिर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा क्षेत्री र ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो । क्षेत्रीले प्राप्त गरेको पुरस्कारको राशी ५१ हजार रुपैयाँको छ । साथै ढुङ्गानाले १५ हजार रुपैंयाँ प्राप्त गरेका छन् ।
७७ वर्ष उमेर पुगेका क्षेत्री झापाका पहिलो पुस्ताका पत्रकारका रुपमा चिनिन्छन् । क्षेत्री ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाको झापा संवाददाताको रुपमा कार्यरत छन् । केटो पत्रकारिता पुरस्कार पाउने ढुंगाना हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार हुन् । ‘केटो’ तत्कालीन मेची अञ्चलको जेठो पत्रिका हो । त्यही पत्रिकाको नाममा उक्त पुरस्कार स्थापना गरिएको थियो ।