ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शैयाको आधारभुत अस्पताल निर्माणका लागि स्थानीयले गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

औद्योगिक ग्राम निर्माणका लागि स्थानीय जनार्दन प्रसाई र लक्ष्मी सिटौला प्रसाईले एक करोड बराबरको २८ रोपनी ८ आना जग्गा गाउँपालिकालाई निशुल्क पास गरिदिएका हुन् ।

त्यस्तै मचिन्द्र फेयङ र मनुषा हुक्पाचोङवाङ फेयङले १ रोपनी १४ आना जग्गा उपलब्ध गराएको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका वडाध्यक्ष देवीप्रसाद खरेलले बताए ।

त्यस्तै १० शैयाको हाङपाङ आधारभुत अस्पताल निर्माणको लागि स्थानीय समाजसेवीहरुबाट ७ रोपनी जग्गा र ३ लाख ५० हजार रुपैया रकम उपलब्ध गराई सकिएको उनको भनाई छ । उनका अनुसार जनार्दन प्रसाई र लक्ष्मी सिटौला प्रसाईले ५० हजारमा ८ आना जग्गा खरिद गरेर निशुल्क उपलब्ध गराएका छन् ।

यस्तै ईन्दिरा राई यक्सो र तक्दिरराज प्रसाईले २–२ रोपनी, डक्बर यक्सोले १ रोपनी ८ आना, विमल यक्सो र अकल बहादुर यक्सोले १ रोपनी, टेकमान खपाङगी मगर र पदम आङवुहाङले १२ आना, हर्क यक्सोले ८ आना, दिनेस प्रसाईले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका हुन ।

यसैविच  याम बहादुर आङवुहङले ५० हजार, राजकुमारी फेयङले ५० हजार, धन बहादुर यक्सोले ५० हजार र नरेन्द्र याक्सोले ५० रुपैँया नगद सहयोग प्रदान गरेको वडाध्यक्ष खरेलले बताए । स्वास्थ्य क्षेत्रको लागि बाँकी ३ रोपनी जग्गा पास गर्ने क्रममा रहेको समेत उनले जानकारी दिए ।