औषधिमा नक्कली लेबल लगाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका फार्मेसी संचालक विक्रम मण्डल धरौटीमा रिहा भएका छन् ।
मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालशले मण्डललाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
२६ माघमा मण्डललाई मोरङ प्रहरीले म्याद सकिएको औषधिमा नक्कली नयाँ लेबल लगाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका विक्रमलाई प्रहरीले आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो ।
विभागले अनुसन्धान पूरा गरेपछि मोरङ अदालतमा ‘औषधीको अनुचित प्रयोग’ मुद्दामा अभियोग दर्ता गराएको थियो ।
सोमबार मोरङ अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८, ७२ बमोजिम धरौटिमा छोड्न आदेश आएको अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
पक्राउ परेका मण्डल विराटनगरस्थित न्यूरो हस्पिटल अगाडि रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ का संचालक हुन् । मण्डल र उनका दाजु विराटनगर ५ का २५ वर्षीय विकास मण्डलले म्याद सकिएको औषधिमा नक्कली लेबल लगाएर बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा औषधि बरामद गरेको थियो ।
प्रहरीले विक्रमलाई पक्राउ गरेपछि विकास फरार छन् । फरार भएका विकास अहिलेसम्म पक्राउ परेका छैनन् ।
भारतदेखि ल्याएको अवैध प्रतिबन्धित औषधिमा नक्कली नयाँ लेबल लगाएर मण्डलले उपकरण पनि राखेको भेटिएको थियो । प्रहरीले मण्डलको फार्मेसी र कोठादेखि ७९ प्रकारका विभिन्न कम्पनीको प्रतिबन्धित औषधि बरामद गरेको थियो ।
यस अघि पनि गत वर्षको फागुन १८ गते विकास म्याद सकिएको औषधि बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए ।