भण्टाबारी। ब्राउनसुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंह पुर्पक्षका लागि जेल चलान भएका छन् । मङ्सिर १९ गते ७७ ग्राम ब्राउनसुगरसहित रङ्गेहात पक्राउ परेका सिंह तीन महिनापछि जेल चलान भएका हुन् ।

सुनसरी प्रहरीले अनुसन्धान गरी बुझाएकोमा जिल्ला अदालत सुनसरीले मङ्गलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । अभियुक्तलाई छुटाउन सरकारी वकिलसहित केही निजी कानून व्यवसायीको अथक प्रयासका बावजुद जिल्ला अदालतले पुर्पक्षका लागि पठाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरी इनरुवाले अभियुक्त सिंहलाई छुटाउन प्रहरीमाथि दबाव सिर्जना गर्नेदेखि निर्दोष फसाउनेसम्मको षड्यन्त्र गरेको आरोप लाग्दै आएको थियो  ।

सरकारी वकिलको निर्देशनमा पक्राउ परेका सिंहको मङ्सिर २६, माघ २८ गतेसमेत तीनपटक बयान फेर्दै मुद्दासँग सम्बन्धित नभएको व्यक्तिको नामसमेत उल्लेख गराई छुटाउन खोजेको स्रोतले बताउँदै आएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले ठूलो परिमाणमा ब्राउनसुगरसहित पक्राउ परेका व्यक्तिलाई जोगाउन अन्य केही निर्दोष व्यक्तिलाई समेत फसाउनुका साथै प्रहरीमाथि दबाव दिँदै आएको स्रोतले जनाएको थियो ।  

लागूऔषधबाहेक सिंहको सप्तरीबाट झुटो विवरण पेश गरी  नागरिकतासमेत लिएको खुलेको थियो । उक्त विषयमा हालसम्म कुनै कारबाही भएको पाइएको छैन । सिंहलाई जोगाउन भारतीय मतदाता नामावलीबाट नामसमेत हटाइएको ब्लाष्टले कागजात फेला पारेको थियो ।

उनी भारतीय भएको प्रमाणसँगै नेपालमा सप्तरी जिल्लाको तत्कालीन पकरी– २ बाट कीर्ते गरी नागरिकता लिएको कुरा पुष्टि भइसकेको छ । राजकुमार सिंहको आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पाइएको छ । सिंहले ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई नेपाली नागरिकता लिएको कागजातबाट पुष्टि भएको छ ।