विजयपुर । धरान–१५ की ७२ वर्षीया लक्ष्मी तामाङ सोमबार सम्मानित भइन् । उनी सम्मान–पत्र लिएर उभिइरहेकी थिइन्, उनका आँखाबाट एक्कासि अश्रुधारा वर्षिए । ‘आमा खुसीको क्षणमा किन आँसु ?’ प्रश्न सुन्ने बित्तिकै आँसु पुछ्दै भनिन्, ‘बाबू, आजसम्म मैले यस्तो अवसर पाएकी थिइनँ । आज जु¥यो । खुसी हुँदा पनि आँसु आउँदो रहेछ ।’

२०२६ सालतिर दिनको ३ रुपैयाँ ज्यालामा उनका श्रीमान् मजदुरी गर्थे । श्रीमान्को निधनपछि उनी विवाह तथा विभिन्न उत्सवहरूमा भाँडा माझ्ने काम गर्न थालिन् तर, ३ वर्षदेखि घुँडा दुख्न थालेपछि त्यो पनि छाडिन् । ५ जनाको परिवारमा घरमा १ छोरा छन् । खाने आधार सामाजिक सुरक्षा भत्ता मात्र हो । तामाङ भन्छिन्, ‘कोही बेला मीठो, कोही बेला तीतो खान्छु, पु¥याउनु प¥यो नि ।’ 

अर्की सम्मानित हुने श्रमिक हुन् ५७ वर्षीया विष्णुमाया कटुवाल । उनी धरान–८ निवासी हुन् ।  कटुवालको दैनिकी बिहान ३ बजदेखि सुरु हुन्छ । ३ बजे उठ्छिन् । डोको बोकेर हतारहतार सब्जी बजार पुग्छिन् । ३ बजेदेखि सब्जी बोकेर धरान बजारका गल्लीगल्ली पुग्छिन् । सब्जी बिक्री भइसक्दा सधैँँ १० बज्छ । कहिलेकाहीँ त १२ पनि बज्छ । बिहानै उठेर दुःख गरे पनि कमाइ कम नै रहेको सुनाउँछिन् । उनको सब्जी कतिले उधारो राख्ने र पैसा नदिने गरेका पनि छन् ।

उनले धेरै नाफा खाएको भन्ने आरोप पनि सहनु परेको छ । ‘दुःख गरे पनि खानसमेत राम्रो पुग्दैन’–उनी भन्छिन् । उनलाई बहिनीका छोरीहरूले सहयोग गर्ने भएकाले केही सहज भएको छ । यसरी नै उनले छोरीकी छोरी आफ्नी नातिनीलाई बोर्डिङ स्कुल पढाइ रहेकी छिन् । उनले भनिन्, ‘यो उमेर भयो, सम्मानित भएकी थिइनँ, आज साह्रै खुसी लागेको छ ।’ उनले यो आफूभन्दा पनि आफ्नो पेसाले पाएको सम्मान भएको बताइन् । ‘काम गरे फल पाइन्छ भन्थे, यही होेला फल धेरै खुसी लागेको छ’ –उनले खुसी व्यक्त गर्दै भनिन् ।

सीता परियार बिहान ७ बजे कामका जान्छिन् । बेलुका ६ बजे घर फर्किन्छिन् । उनी मात्र होइन, उनका एक छोरा पनि निर्माण व्यवसायमै काम गर्छन् ।  उनका पति १५ वर्ष पहिले नै बिते । उनले निर्माण पेसामा लागेर छोरालाई १२ कक्षासम्म पढाइन् । पढेपछि छोरो नेपाली सेनामा भर्ती भए । भर्ती भएपछि परिवारमा केही दिन खुसी आयो । उनले छोरो जागिरमा लागेपछि पनि काम गरी नै रहिन् । १ वर्षपछि ड्युटी जान्छु भनेर हिँडेको छोराको शव घोपानजिक भेटियो । त्यसपछि भने उनको खुसी नै समाप्त भयो । उनले भनिन्, ‘के गर्ने बाँच्नै प¥यो । दुई महिनासम्म काम गर्न सकिनँ । त्यसपछि अहिले पनि निरन्तर निर्माणसम्बन्धी काम नै गरिरहेकी छु ।’ 

उनले पेसाबाट सुख–दुःख गुजारा चलाइरहेको बताइन् । तर, पुरुष र महिलासँगै बराबरी नै काम गरे पनि पुरुषले ७ सय महिलाले ६ सय मात्र ज्याला पाउँछन्  । ‘काम उही तर ज्याला फरक छ’ –उनले भनिन् । उनी पनि सम्मान पाउँदा खुसी छिन् ।

सम्मानित हुने अर्की नारी हुन् ७० वर्षीया शिवकुमारी तामाङ । उनलाई ‘हरियो मकै पोली बेच्ने कार्य गरेको भनेर सम्मानित गरियो । उनी पनि निकै भावविह्वल थिइन् । उनले पहिलोपटक सम्मानित हुन पाएकोमा हर्षित भएको बताइन् । उनी एक छोरासँग बस्छिन् । सम्मानित हुने धरान–६ की माया गौतमले पनि सब्जी व्यापार गर्दै आएकी छन् । उनका २ छोरी र १ छोरा छन् । उनले बिहान सब्जी बजारमा लिएर बिक्री गर्दै आइरहेकी छन् । उनको सब्जी व्यापार भने अहिलेदेखिको होइन । ३५ वर्षदेखि निरन्तर सब्जी व्यापारमा नै संलग्न छिन् । उनले पहिले बोकेर सब्जी ल्याउने गरेको बताइन् । उनले भनिन्, ‘पहिले गाडी थिएन, बोकेर ल्याउनु पथ्र्यो । अहिले गाडीमा ल्याएर बिक्री गर्छु, व्यापार राम्रै छ तर, दुःख अलि बढी नै गर्नुपर्छ ।’ 

उनले पनि यस्तो सम्मान पाएको भने पहिलो चोटी भएको बताइन् । उनले सम्मान पाउँदा खुसी लागेको सुनाइन् । सम्मानित सबैले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान पाएपछि खुसी भएको थिए । उनीहरूलाई सम्मान–पत्र र नगद २ हजारसहित सम्मान गरिएको थियो । 

धरान उपमहानगरले १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा उनीहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई धरान नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सम्मान–पत्र र नगद २ हजारसहित सम्मान गरेका थिए । कार्यक्रममा कोरोना महामारीमा स्वाव सङ्कलन तथा फ्रण्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम उपमहानगरको आयोजना र महिला सञ्जाल धरानको सह–आयोजनामा भएको थियो । कार्यक्रममा उपमहानगरपालिकाले समान कामको लागि समान ज्याला लागू गर्न प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । समान ज्याला लागू गर्ने निर्माण व्यवसायीलाई आगामी वर्ष सम्मान गरिने उपप्रमुख भण्डारीले बताइन् ।

त्यसैगरी अखिल नेपाल महिला सङ्घ धरानले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । धरान–१५ स्थित सदन स्कुलको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद् सावित्री जोशी, उमिता बराइलीलगायतको उपस्थिति रहेको थियो । महिलाहरू राजनीतिलगायत सबै क्षेत्रमा नेतृत्व गर्दै बढ्नु पर्ने र समाजमा सक्षम भई पुरुषभन्दा माथिल्लो स्थान हासिल गर्नुपर्ने प्रमुख अतिथि जोशीले बताइन् ।