इटहरी। इटहरी उपमहानगरपालिका–२० का मिलन श्रेष्ठले २५ वर्ष विदेशमा बिताए । २०५० सालमा साउदी अरब छिर्दा गाउँघर सुनसान थियो । टाढा–टाढा घरहरू थिए । तर, २०७५ मा घर फर्कदा घरहरू बाक्लिएको पाए ।
लामो विदेश बसाइपछि गाउँ फर्किएका उनी अहिले कृषि कर्ममा छन् । व्यावसायिक कृषि फर्म आम्दानीको गतिलो स्रोत बनेको छ । उनी विदेशको अनुभव र दुःखलाई यहीँ नै प्रयोग गर्न तल्लीन छन् ।
इटहरी–१८ मा पटेरुवा एग्रीकल्चर एण्ड एग्रोभेट कृषि फर्म खोलेर कृषिमा नयाँ क्रान्ति गर्ने सोच राखेका छन् । उनले स्थानीय जातको कुखुरा, राँगा र माछा पालन गर्दै आएका छन् । त्यस्तै आँप र तरकारी खेती पनि एकसाथ गर्दै आएका छन् । स्थानीय जातको कुखुराबाट राम्रै आम्दानी भएको उनी बताउँछन् । अब बाख्रा र सुँगुर पाल्ने सोचमा छन् ।
साउदीमा रहँदा युट्युब र समाचार हेरेर कृषिमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् । ‘व्यावसायिक कृषिमा सफल हुने मेरो लक्ष्य छ’ उनी भन्छन्, ‘२५ वर्ष अर्काको देशमा दुःख गरेँ, अब यहीँ केही गर्छु ।’ फर्ममा ३ जनालाई रोजगारी पनि दिएका छन् ।
आफन्तकै २५ कठ्ठा जग्गा भाडामा लिएर कृषिमा लागेका उनको फर्म अहिले नै हराभरा भइसकेको छ । यहाँ उत्पादन गरेको तरकारी आसपासमै बिक्री हुने गरेको उनी बताउँछन् । उनी सुँगुर र बाख्रापालनको तालिम लिने सोचमा छन् । ‘युवाहरू वैदेशिक रोजगारमा गएर त्यहाँ दुःख गरेपछि मात्रै देशमा केही गर्न खोज्छन्’ –उनी भन्छन् ।
विदेशमा दश घण्टा काम गर्दा पनि आकर्षक तलब नपाइने र हेयको दृष्टिले पनि हेर्ने भएकाले आफूलाई दुःख लाग्ने गरेको बताउँछन् । तर, बाध्यताका कारणले पनि नेपाली विदेश जानुपरेको उनको भनाइ छ । सरकारले उचित अवसर तथा वास्तविक कृषकलाई अनुदान दिने परिपाटी नहुँदा युवाहरू पलायन हुनुपरेको उनले भनाइ छ । ‘अनुदान जति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले पाउँछन्’ –उनले भने ।
राजनीतिमा छैन मोह
मिलन श्रेष्ठ साविक हाँसपोसा गाविसका प्रधानपञ्च गणेशकुमार श्रेष्ठका छोरा हुन् । आफ्नो बुबा प्रधानपञ्च भए पनि राजनीतिमा उनको धेरै चासो छैन । ‘बुबा खरो कम्युनिष्ट हुनुहन्थ्यो, म चाहिँ साथीभाइको लहलहैमा उतिबेलै नेविसङ्घतिर हिँडेँ’ –उनी भन्छन् ।
तर, उनले अहिले राजनीतिमा भन्दा पनि व्यवसायलाई प्रथामिकतामा राख्दै आएका छन् । ‘दुई वर्षअगाडि बुबा गणेशकुमारको मृत्यु भएपछि विदेश जान मन लागेन, त्यही कारण कृषिमा लागेको छु’ श्रेष्ठ भन्छन्, ‘विदेशमा छँदादेखि नै आफ्नै गाउँमा केही गरुँ भन्ने लागेको थियो, अहिले कृषि व्यवसायमा लागेको छु ।’ उनी भलिबल खेलाडीसमेत हुन् । सानो उमेरदेखि नै भलिबल खेल्न माहिर उनी क्लबहरूसँगै जिल्लास्तरीय प्रतियोगितामा समेत छानिएका थिए ।