ताप्लेजुङ/ सानिमा मीडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीद्धारा ताप्लेजुङमा निर्माणाधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ भित्र दुईजना मजदुरको मृत्यू भएको छ ।
सुरुङ खन्ने क्रममा ढुङगाले लागेर उनीहरुको मृत्यू भएको आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । मृत्यु हुनेमा उदयपुर घरभएका २२ वर्षका अमर बिश्वकर्मा र भोजपुर घर भएका सन्तोष बानियाँ रहेका छन् । उनिहरुको शनिवार दिउसो मृत्युभएको हो ।
आयोजनाका भुगर्भबिद् सुर्य लिम्वूका अनुसार सुरुङ खनेर जाँदा सर्पोट लगाउनु पर्छ, त्यो लगाउने माथीवाट लडेको ढुङगाले लागेर दुईजनाको ज्यान गएको हो ।
सुरुङ भित्र पसेका अरु सकुशल रहेको लिम्वूले वताए । मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिन तर्फ सुरुङ खन्नेक्रममा दुर्घटना भएको जनसम्पर्क अधिकृत गौतमले जानकारी दिए । आउटलेट टर्नेलवाट हेडबक्स तर्फ १३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । त्यहीँ पुग्दा दुईजना दुर्घटनामा परेको लिम्वु बताउँछन् ।
७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालवाट निर्माण सुरु भएको हो । २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने हुन्छ ।