विराटनगर / क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनिरल इण्डष्ट्रिज र शिवम् क्रसरले मापदण्ड विपरीत केराबारी–८ खदम खोलाछेउको निजी जग्गामा गरेको उत्खनन्ले सिंचाइका चारवटा कुलो भत्काइदिएको छ ।

खदम खोलामा बाँध बाँधेर सिंचाइका लागि बनाइएको चारवटा कुलो मापदण्ड विपरीत उत्खनन् गर्दा भत्किएको स्थानीयको भनाइ छ । सिसौली, सुकुना, जिमनारी र निकासी कुलो अवैध उत्खनन्ले भत्काइदिएको जितबहादुर बस्नेतले बताए ।

‘प्रतिबिघा ५ सय रुपैयाँका दरले उठाएर खोलामा बाँध बाँधेर कुलो बनाएका थियौं’ उनले भने, ‘खदम खोला र त्यस छेउमा भएको जथाभावी उत्खनन्ले अहिले सबै कुलो भत्किएको छ । यहाँका किसान सिंचाइविहीन छन् ।’

केराबारी–८ आमजुँगीका करिब पाँचसय घरपरिवारले खेती गर्न सिसौली पैनी बनाएर दुई वर्षअगाडि कुलो ल्याएका थिए ।

‘जथाभावी मापदण्डविपरीत उत्खनन् गरेको कारणले अहिले सिंचाइ गर्ने कुलो भत्काइदिएको छ’ केराबारी–८ का गोपाल खड्काले भने, ‘सिसौली पैनीमा आएको पानीले २ सय बिघा खेतीयोग्य जमिनमा सिंचाइ हुने गरेको थियो ।’

खोला र त्यसछेउको क्षेत्रमा अवैध उत्खनन्ले अहिले केराबारीस्थित आमजुँगीका स्थानीय सिंचाइविहीन हुनुपरेको उनले बताए । यहाँका किसानले वर्षभरिमा तीनबाली खेती गर्दै आएका छन् । यहाँका कृषकहरूले धान, मकै, तोरीलगायतका नगदे बालीहरू लगाउँदै आएका छन् । 

यता केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीले मापदण्ड विपरीत हुने उत्खनन् रोक लगाएर भत्किएको सिंचाइ कुलो पुनःनिर्माण हुने बताए ।

‘क्रसर उद्योगले उत्खनन्को क्रममा भत्काएको कुलो बनाउने सहमति भएको छ’ उनले भने, ‘किसानहरूको लागि गाउँपालिकाले पानी सञ्चितको लागि योजना अगाडि सारेको छ ।’

८ देखि १० बिघाको प्लट बनाएर पानी सञ्चित गर्ने योजना ल्याएको उनले बताए । ड्याम बनाएर दिगो पानीको योजना पनि गाउँपालिकाले लिएर आएको उनको भनाइ छ । अहिले सर्वे भइरहेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।