धरान। धरानमा ऐलानी खुलेको हल्ला चलाइएपछि धरान–१७ नमुना सुन्दर बस्तीको पश्चिमी क्षेत्र सर्दु खोलाभित्रै सुकुम्बासीको नाममा हुकुम्बासीले टहरा बनाएको पाइएको छ । 

टहरा बनाएको सूचना पाएपछि धरान उपमहानगरपालिकाका नगर प्रहरीले त्यहाँ निर्मित चारवटा अस्थायी टहरा र बाँसले बारेको अवस्थामा करिब २० वटा घडेरी भत्काएको छ ।

रातारात अतिक्रमण गरी बनाइएको टहरा भत्काएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार चारवटा अस्थायी रूपमा टहरा बनाइएको थियो भने करिब २० वटा घडेरीलाई बाँसले बारेको अवस्थामा भेटिएको थियो । 

करिब सयवटा जति घडेरी बनाइए पनि अन्य चाहिँ ढुङ्गाले बारेको अवस्थामा भेटिएको छ । ‘खोलाभित्रै टहरा बनाइँदै छ भन्ने सूचना आएपछि पुग्दा साँच्चै टहरा बनाएको पाइयो’ नगर प्रहरी प्रमुख कोइरालाले भने, ‘सबै टहरा र बाँस भत्काएर ल्याएका छौं ।’

धरान–१७ को अधिकांश खोला क्षेत्रमा अतिक्रमण गरी बाँसको अस्थायी टहरा बनाउने कार्य जारी रहेको सूचना आएकाले दैनिक अनुगमन गरिने उनले बताए । ‘चतरा जाने पुल क्षेत्रमा पनि अतिक्रमण गरिएको छ भन्ने सूचना आएको छ, त्यहाँ पनि गएर हेर्छौं’ –उनले भने । सरकारले सुकुम्बासी आयोग बनाएर अहिले पुराना तथा हालसम्म ऐलानी क्षेत्रमा बस्दै आएकाहरूको लगत सङ्कलन गरी पुर्जा वितरण गर्ने तयारी थालेको छ । 

यही बेलामा धरानमा भने सुकुम्बासीलाई जग्गा वितरण हुँदै छ भन्ने नाममा जग्गा रातारात अतिक्रमण बढेको छ । जहाँ धरानका टेम्पो व्यवसायीलगायतले जग्गा अतिक्रमण गरी टहरा बनाएको खुलेको छ ।