बिर्तामोड। झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गामा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको  छ । 

घटनामा परी घाइते भएका अन्य ६ जनाको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ । तीनवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०४–००१ च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिम जाँदै गरेको को.१ क १६८४ नम्बरको मालबाहक ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा परी कारमा सवार सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिकाका ३३ वर्षीय दिलिप रानामगर र सोही कारका चालक धरान उपमहानगरपालिका–१६ का दीपक क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेमध्ये दुईजनाको मृत्यु भइसकेको बिर्तामोडको बी एण्ड सी अस्पतालले पुष्टि गरेको छ । तीव्र गतिमा आउँदै गरेको कार विपरीत दिशाबाट जाँदै गरेको ट्रकसँग ठोक्किएको थियो ।