भण्टाबारी। इनरुवाको महेन्द्र चोकस्थित युवराज दाहालको घरमा भण्डारण गरिएको मिति र बिल प्रस्तुत गरेको मितिबीच तालमेल नमिल्दा थप शङ्का उत्पन्न भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले फागुन ८ गते घरधनी दाहालको घरमा भण्डारण गरिएको ४ सय ५० बोरा चामल सिल गरेको थियो । सिल गरिएको भोलिपल्टै अर्थात् फागुन ९ गते चामल आफ्नो भएको दाबीसहित बिल लिएर भोक्राहा नरसिंह गाउँपालिका–४ का वडाध्यक्ष हारुन अन्सारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।उनले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माघ ३ गते खरिद गरेको बिल प्रस्तुत गरेका थिए ।

तर, घरधनी दाहालले सिल गरेको समयमा कात्तिक २८ अर्थात् तिहारको अघिल्लो दिन भण्डारण गरेको सञ्चारकर्मीलाई बताएका थिए । उनले बोलेको दृश्य सामग्री (भिडियो) तथा श्रव्य सामग्री (अडियो) अहिले पनि सञ्चारकर्मीसँग सुरक्षित छ । 

इटहरीस्थित पर्ल इन्भेष्टमेण्ट प्रालिबाट उनले चामल खरिद गरेको बिल प्रस्तुत गरेका छन् । उक्त प्रालिका सञ्चालकले आफूहरूले जुन बेला सामान ढुवानी हुन्छ, त्यही बेला नै बिल दिने गरेको दाबी गरेका छन् । जिल्ला प्रशासनले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवलाई भण्डारण गरिएको चामलको विषयमा ‘के हो ?’ भनी जवाफ मागेको थियो ।

जवाफमा गाउँपालिकाको चामल नभएको प्रत्युत्तर पठाएको थियो । प्रशासनले उक्त विषयमा अहिले पनि अनुसन्धान गरिरहेको छ । घरधनी दाहालले पत्रकारहरूलाई दिएको सूचना र वडाध्यक्ष अन्सारीले पेश गरेको बिलबीच तालमेल नै मिल्दैन । अझ रोचक त के भने जुन बिक्रेताबाट खरिद गरिएको भनिएको छ, उक्त बिक्रेता कम्पनी पर्ल इन्भेष्टमेण्ट प्रालि इटहरीका हरिश अग्रवालले आफूहरूले सामानसँगै बिल पठाउने गरेको दाबी गरे । हालको प्राप्त तथ्यलाई केलाउँदा बिल र भण्डारण गरेको मिति ३ महिना २५ दिन फरक पर्छ ।   

कोरोना महामारीका लागि आएको चामल जनप्रतिनिधिले लुकाएको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्ला प्रशासनले सत्य–तथ्य जाँच गर्नका लागि दाहालको घरमा छापा मारेको थियो । छापा मार्दा ४ सय ५० बोरा चामल भण्डारण गरी राखेको अवस्थामा पनि भेटिएको थियो । चामलको विषयमा अहिले पनि छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनले भने, ‘चामलको सम्बन्धमा बुझ्दा भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो नभएको भनी पत्राचार गरेको छ ।’ उनका अनुसार भोक्राहा नरसिंह–४ का वडाध्यक्ष हारुन अन्सारीले बिल पेश गर्दै  व्यक्तिगत चामल भएको दाबी गरेकाले त्यसबारे छानबिन भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालयमा वडाध्यक्ष अन्सारीले माघ ३ गतेको बिल पेश गरेका छन् । उनले इटहरीस्थित पर्ल इन्भेष्टमेण्ट प्रालिबाट खरिद गरेको भनी बिल पेश गरेका हुन् । ब्लाष्ट टाइम्सलाई प्राप्त बिलमा ‘कान्छी स्टिम’ नामको २५ केजीको ४ सय ५० बोरा चामल दिइएको उल्लेख छ ।

५ लाख १७ हजार ५ सय रुपैयाँको बिल वडाध्यक्ष अन्सारीको नाममा काटिएको छ । गाउँपालिकाले कोरोना महामारीको समयमा गरिब जनताका लागि खरिद गरेको चामल जनप्रतिनिधिले लुकाएको आरोप लाग्दै आएको छ । कोरोना महामारीका बेला गाउँपालिका आफैले चामल खरिद नगरी वडा कार्यालयलाई जिम्मा दिई भुक्तानी मात्रै गर्दै आएको थियो ।

यता वडाध्यक्ष अन्सारीले आफूले माघ ३ गते इटहरीको पर्ल इन्भेष्टमेण्ट प्रालिबाट चामल खरिद गरेको दाबी गरे । उनले भने, ‘मैले बिक्री गर्ने उद्देश्यले नै खरिद गरेको हो, त्यो राहतको चामल होइन ।’ उनले थपे, ‘मेरो चरित्र हत्या गर्न र मेरो राजनीति सिध्याउनका लागि यो सबै गरिएको हो ।’ उनले आफूले यसअघि पनि सानोतिनो व्यापार गर्दै आएकाले चामलको भाउ बढ्ला कि भनेर खरिद गरेको दाबी गरे । चामल मात्रै होइन, गहुँ, मकै आदि पनि आफूले खरिद गर्दै बेच्दै गरेको उनले बताए । उक्त चामल हारुन र ८ नम्बरका वडाध्यक्ष हात्तिम अन्सारीले लुकाएको भन्ने आरोप लागेको थियो । 

यसअघि हात्तिमले ब्लाष्टसँगको कुराकानीमा चरित्र हत्या गर्ने नियतले आफूलाई पनि जबर्जस्ती सो घटनामा जोडेको दाबी गरे । घरधनीको भनाइप्रति उनले भने, ‘युवराज दाहालले त्यस्तो कुरा गरेको जस्तो लाग्दैन । उहाँलाई पत्रकारले के सोध्नुभो, उहाँले कुन सुरमा के भन्नुभयो, के बोल्नुभो मलाई थाहा भएन ।

मैले माघ ३ गते नै सामान ल्याएर राखेको हुँ ।’ स्थानीयले वडाध्यक्ष हारुन अन्सारी र हात्तिम अन्सारीले राहतको चामल लुकाएर व्यापारिक प्रयोजनका लागि राखेको बताउँदै उम्किन खोजेको दाबी गरेका छन् । चामलको विषयमा बुधबार वडाध्यक्ष हारुन अन्सारीसहित तीनजनाको बयान लिने काम भएको छ ।