धरान। पछिल्लो समय लगातार एकपछि अर्को गीत सार्वजनिक गर्दै आएका सङ्गीतकर्मी उमेश रेग्मी नयाँ गीतको भिडियो लिएर बजारमा आएका छन् ।

उमेशकै शब्द र सङ्गीत र रामकृष्ण ढकालको स्वर रहेको गीत ‘सानु मेरो याद आयो’ को भिडियो सार्वजनिक भएको हो । गोत्र इन्टरटेन्मेन्ट च्यानलमार्फत् सार्वजनिक भिडियोमा गायक रामकृष्ण ढकालसँगै साक्षी लम्साल र प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियो निशाल पौडेलको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

हाल अमेरिकामा रहेका सुनसरी इनरुवाका उमेशले पछिल्लो गीतमा समेत चर्चित गायक गायिकाको स्वरमा नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

उमेशको शब्द तथा सङ्गीतमा वरिष्ठ गायक दीप श्रेष्ठदेखि रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, विश्व नेपाली, टीका प्रसाईं, सञ्जीवनी, राज पौडेल, विवेक श्रेष्ठ लगायतले स्वर दिइसकेका छन् ।

उमेश आफै पनि सङ्गीतकार र गीतकार मात्र नभएर गायक समेत हुन् । उनले २०६५ साल ताका नै ‘सुनसरी इनरुवा’ र ‘युमेश’ नामका एल्बम सार्वजनिक गरिसकेका छन् । उनी भन्छन्, ‘जहाँ पुगे पनि गीत सङ्गीत छाड्दिन ।’