भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकामा दोस्रो कोशी महोत्सव सुरु भएको छ । कोशी टप्पुलाई प्रदेशकै मुख्य पर्यटन क्षेत्रका रूपमा चिनाउने उद्देश्यले आइतबारबाट कोशी महोत्सव सुरु भएको हो ।

कोशी गाउँपालीका ३ स्थित रहेको कोशी टप्पुमा सुरु भएको उक्त कोशी महोत्सव तथा तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन विघटित प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । कोशी गाउँपालीकाको आयोजना सुरु भएको उक्त महोत्सवको उद्घाटन कार्यक्रम कार्कीको प्रमुख आतिथ्य तथा गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कोशी पर्यटन महोत्सवको उद्घाटन गर्दै कार्कीले कोशी टप्पुलाई पर्यटन क्षेत्रका रूपमा स्थापित गराउन महोत्सव महत्त्वपूर्ण भएको बताए । नेपाल बिश्वमा प्राकृतिक सम्पदाले धनी भएपनि कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता कैयौं पर्यटकीय स्थलहरु स्रोत साधन तथा प्रचारप्रसार अभावमा अपेक्षा गरिएअनुसार लाभ लिन नसकेको उनको भनाइ छ ।  कोशी टप्पुलाई व्यवस्थित गर्दै निकुञ्ज बनाउनेतर्फ इंगित गर्दै नेता कार्कीले भने कोशी टप्पु व्यवस्थित नभएसम्म मानव र जनावरबीचको द्वन्द अन्त्य हुँदैन ।

त्यसैले कोशी टप्पुलाई व्यवस्थित बनाउदै आकर्षक पर्यटन प्रवर्द्धनका निम्ति यस्ता महोत्सव निकै महत्त्वपूर्ण छ । अध्यक्ष ऐयुब अन्सारीको नेतृत्वमा कोशी गाउँपालीका क्षेत्रका जनप्रतिनिधिले निर्वाचित भएदेखि जनप्रीय कार्य गर्दै आएकोमा नेता कार्कीले धन्यवादसमेत दिए ।

जनताले  विश्वास गरेर निर्वाचित गराएको हुँदा कुनै पक्ष वा विपक्षको नभई जनपक्षीय कार्य गरिनुपर्नेमा जोड दिदै उनले भने जनभावना, आकांक्षा र आवश्यकताअनुसार गर्दै आएका कामलाई निरन्तर दिनुस् सबैको साथ,सहयोग र सहकार्य अवश्य पाउनुहुन्छ । आफू सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि विकास निर्माणकार्यका साथै कोशी टप्पुका जनावर र मानवबीच द्वन्द्व अन्त्य गर्न करोडौं रकम विनियोजन गराएपनि अपेक्षाअनुसार काम हुन नसक्दा समस्या समाधान नभएको कार्कीले बताए ।

महोत्सव उद्घाटन कार्यक्रममा एक प्रदेश प्रमुख प्रतिपक्षी दल नेता राजीव कोइराला,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी,कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी,सुनसरीका सिडिओ फणीन्द्रमणि पोखरेल,नेपाल प्रहरीका एसपी कमल थापा,सशस्त्र प्रहरी बल नेपाल सुनसरीका एसपी माधव पौडेल, सृष्टि समाज इनरुवाका वसन्त सुवेदी,शम्भु आचार्यलगायत जनप्रतिनिधि,सुरक्षाकर्मी,राजनीतिज्ञ,पर्यटन व्यवसायी सहितको उपस्थिति रहेकोे थियो ।

कोशी गाउँपालीकाको कार्यालयले ५० हजारदेखि १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सव आयोजना गरेको हो । कोशी टप्पुलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ कोशी गाउँपालीकाको कार्यालयले कोशी पर्यटन महोत्सव आयोजना गरेको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धन कोशी पर्यटन महोत्सव आयोजना गरिएको अध्यक्ष अन्सारीको भनाइ छ । 

आइतबारबाट सुरु भएको कोशी महोत्सव तथा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा कुस्तीसँगै दंगल प्रतियोगिता, प्रत्येक दिन रमाइलो मेला, सेल्फी पोइन्ट, जंगल सफारीलगायत मुख्य आकर्षणका रूपमा रहनेछन् ।