इनरुवा । सुनसरीमा कोरोना भाइरस विरुद्धको पहिलो खोप इनरुवाका एम्बुलेन्स चालक नारायण मण्डलले लगाएका छन् । 

इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रमा पुगेर ४७ वर्षिय मण्डलले कोरोना विरुद्धको पहिलो डोज लगाएका हुन् । 

एम्बुलेन्स चालकलाई पहिलो डोज लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप अभियानको औपचारिक सुरुवात भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, स्वास्थ्य प्रमुख सागर प्रसाई सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा इनरुवा अस्पतालबाट खोप अभियानको औपचारिक सुरुवात गरिएको हो । 

सो क्रममा इनरुवा अस्पतालका मेसु डा.सन्तोष राई र इन्डोर इन्चार्ज  रोनी ठाकुरले समेत कोरोनाको खोप लगाएका छन् । सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइने छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा तीन दिन खोप कार्यक्रम संचालन हुनेछ । 

स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो डोज लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो डोज दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा ५५ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष लिएको छ । 

यसैबिच प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बिना हिचकिचाहट खोप लगाउन आग्रह गर्नु भएको छ । वहाँले सरकारले निर्धारण गरेको नीति बमोजिम प्राथमिकतामा परेका व्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नु भएको हो ।

प्रजिअ पोखरेलले खोप लगाउने व्यक्तिको सबै विवरण स्वास्थ्यकर्मीले अपडेट राख्ने भएकाले समेत निर्धक्क साथ खोप लगाउन आग्रह गर्नु भएको छ ।