धरान/ धरानमा बुधबार राति मोटरसाइकल र स्कुटर एक–आपसमा जुध्दा एकजना गम्भीर घाइते भएका छन् । 

धरान–१० रमाइलो चोक (राँगा चोक) मा राति ११ बजेतिर दुर्घटना हुँदा स्कुटर चालक धरान–१६ का ईश्वर गुरुङको दाहिने खुट्टा भाँच्चिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार को.२८ प ४ नम्बरका स्कुटर चालक ईश्वरको खुट्टाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

को.२५ प ७७४५ नम्बरको मोटरसाइकल चालक धरान–१८ का किरण भट्टराईलाई नियन्त्रणमा लिइएको भए पनि दुवै पक्षका अभिभावकको मिलापत्रपछि छाड्ने तयारी भएको इन्स्पेक्टर ओलीले जानकारी दिए । 

‘एक्सिडेण्टको केसमा दुवै पक्षबीच मिलापत्र भएमा छाडिन्छ’ उनले भने, ‘दुवै पक्षबाट मिलापत्र गर्छौं भन्ने मौखिक जानकारी आएको छ, भोलिसम्ममा मिल्नुहुन्छ होला ।’ त्यस्तै बिहीबार पनि धरानको रत्नचोकमा स्कुटर र सिटी सफारी एक–आपसमा ठोक्किँदा स्कुटर चालक श्याम लिम्बू सामान्य घाइते बनेका छन् । उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर गएका छन् । सिटी सफारीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यस्तै धरान–१८ रत्न चोकमा बुलेट र पल्सर मोटरसाइकल जुध्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा बुलेट मोटरसाइकलका चालक धरान–१९ का सन्तकुमार चेम्जोङ र पल्सर मोटरसाइकलका चालक धरान–१७ का युवराज राई र सवार धरान–११ का सेन्जो शाही छन् । उनीहरूको बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।