इटहरी। इटहरी उपमहानगरको व्यस्त चोकमा पुगेपछि अचानक दिसापिसाब आएमा सार्वजनिक शौचालय कहाँ छ भनेर सोधीखोजी नगरे हुन्छ । प्रदेश १ कै व्यस्त बन्दै गएको व्यापारिक सहर इटहरी उपमहानगरले मुख्य चोकमा सार्वजनिक शौचालय नबनाएपछि सोधीखोजी गर्नु व्यर्थ छ । 

आधुनिक सहरी जीवनमा शौचालय प्रतिष्ठाको विषय बने पनि तिनै सहरका सर्वसाधारण र जनप्रतिनिधिहरू कुनै बेला बटुवा बनेर पैदल यात्रा गरी चोकमा पुगे आफै समस्यामा पर्ने गरेका छन् । उनीहरूको समस्या नजिकैको होटल रेष्टुराँको निजी शौचालयमा पुगेपछि मात्र समाधान हुने गरेको छ । होटल व्यवसायी सङ्घ इटहरीका महासचिव उमेश दाहालले भने, ‘उपमहानगरपालिकाले सार्वजनिक शौचालय नबनाइदिएकाले दिसापिसाब गर्न नजिकैको होटल वा चिया पसल छिर्नुपर्ने बाध्यता छ ।’ उनले निजी क्षेत्रका व्यवसायीहरूलाई बटुवाहरूले दुःख दिएको बताए । उनले भने, ‘दिसापिसाब गर्ने ठाउँ अभावले हैरानी त छँदैछ, बिहानीपख शौच गर्नकै लागि होटलहरूमा आएर फोहोर गरिदिन्छन् ।’

इटहरी चोकमा सार्वजनिक शौचालय नहुँदा अन्य सहर तथा गाउँदेखि किनमेलको लागि आउने सर्वसाधारण उपभोक्ताले सास्ती खेप्नुपरेको दाहालले बताए । लामो समयदेखिको शौैचालय अभाव अन्त्य गर्न तत्काल निर्माण गर्नुपर्ने उनको माग छ । यातायात व्यवसायी गौरी लामाले सार्वजनिक शौचालय नहुँदा बटुवाहरूले दैनिक सास्ती खेप्नु परेको बताए । इटहरीको पुरानो होटल हीरा होटलका सञ्चालक प्रकाश महतोले इटहरीमा शौचालयको चरम अभाव हुँदा आफूहरूलाई समस्या परिरहेको बताए ।

उनीले भने, ‘दैनिक सय जनाभन्दा बढी त दिसापिसाब गर्ने मात्र होटलमा आउँछन् । शौचालय नजानुहोस् भन्न पनि मिलेन, आफ्नो होटलको शौचालय सार्वजनिक नै जतिको भएको छ ।’ आधुनिक जीवनशैली अपनाउनेहरूका लागि अचेल प्रतिष्ठा र सौखको विषय बनेको शौचालय प्रदेश १ कै व्यस्त सहर मानिएको इटहरी उपमहानगरमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको छ । जसका कारण सर्वसाधारण समस्यामा पर्दै आएका छन् । 

थोत्रिँदै घुम्ती शौचालय

इटहरी आसपास क्षेत्रमा सार्वजनिक शौचालय नभएपछि केही समय इटहरी चौकमा सुरु भएको घुम्ती शौचालय अहिले राखेकै ठाउँमा थोत्रिन थालेको छ । १० लाख रुपैयाँको लागतमा निर्माण भएको घुम्ती शौचालय अहिले इटहरी उपमहानगर परिसरमै थन्किएको छ । जिल्ला विकास समिति सुनसरी, इटहरी उपमहानगरपालिका, लुमन्ती र सीमएन नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा बनेको घुम्ती शौचालय इटहरी उपमहानगरपालिका परिसरमा थन्किएको हो ।

शौचालय बनाउने जग्गा पाएनौंः उवासङ्घ इटहरी

सार्वजनिक शौचालयको चरम अभाव झेल्दै आएको इटहरीमा ठाउँ अभावको कारण शौचालय निर्माणको काम अगाडि बढ्न नसकेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ । एक वर्ष अगाडिदेखि नै शौचालय निर्माणमा लागे पनि इटहरी उपमहानगरपालिकाले जग्गा नदिएको कारण शौचालय बनाउन नसकेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ । 

२०७६ साल साउनमै जग्गा उपलब्ध गराउन इटहरी उपमहानगरलाई उद्योग वाणिज्य सङ्घले पत्राचार गरे पनि उपमहानगरपालिकाले बेवास्ता गर्दा शौचालय निर्माणको काम रोकिएको उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव पिताम्वर पोखरेलले बताए  । इटहरीको मुख्य चोक आसपास दुईवटा शौचालय अत्याश्वयक भएको उनले बताए । 

तीन महिनाभित्र सार्वजनिक शौचालय बन्ने

एक वर्षअगाडि इटहरीमा आधुनिक सार्वजनिक शौचालय बनाउने निर्णयअनुसारको काम पूरा हुन सकेको छैन । इटहरी उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमिरेले भने इटहरीमा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको बताए । उनले भने, ‘लामो समयदेखि रोकिएको काम सुरु भएको छ । शौचालय अगाडि पानीको फोहोरासहित फूलै फूलको बगैंचा पनि हुनेछ ।’ उनले तीन महिनाभित्र शौचालय बन्ने त्यो शौचालय अपाङ्गमैत्री हुने बताए ।