भण्टाबारी/ केही दिनयता चलेको चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर बनेको छ । आर्थिक अवस्था कमजोर भएका दलित, गरिब तथा विपन्न समुदायलाई एक्कासि बढेको जाडोले समस्या भएको हो । 

जाडो बढेपछि न्यानो लुगा अभाव हुँदा उनीहरू परालको घुर तापेर दिन कटाउने गरेका छन् । कोशी गाउँपालिका–७ स्थित सुकुम्बासी बस्तीका सन्तोष मुखिया लत्ताकपडाको अभावमा परालकै ओछ्यान बनाएर रात कटाउने गरेको बताउँछन् । जाडोबाट बच्न ओढ्ने नहुँदा बस्तीवासीले आगो तापेर जाडो भगाउने प्रयास गरिरहेको उनको भनाइ छ । शुक्रबारबाट एक्कासि सरु भएको शीतलहरले बालबालिका र ज्येष्ठ नागरिकलाई दैनिकी काट्न मुस्किल भएको कोशी गाउँपालिका–७ की वडासदस्य पार्वती मुखिया बताउँछिन् । जाडोबाट बच्न तत्काल दाउरा र न्यानो कपडा आवश्यक भएको उनी बताउँछिन् । 

जाडोले गर्दा दैनिक ज्यालामजदुरीमा जानसमेत समस्या भएकोले गुजारा चलाउन पनि हम्मे पर्न थालेको छ । जाडोयाम विशेषगरी सुकुम्बासी र विपन्न समुदायका लागि काल बनेर आउने गरेको उनी बताउँछिन् । ‘ओढ्ने, ओछ्याउने न्यानो कपडा अभाव छ’ –उनी भन्छिन् । कोशी गाउँपालिका–७ सुकुम्बासी बस्तीमा करिब ४ सय परिवार बसोबास गर्छन् । 

जाडो छल्न प्लास्टिकको घुर 

जाडो भगाउनका लागि चोक–चोकमा फालिएका प्लास्टिक र झुत्रा कपडा बटुलेर घुर ताप्ने गरेका छन् । जसले गर्दा उनीहरूमा श्वास–प्रश्वासको समस्या हुने सम्भावना बढेर गएको छ । कोशी गाउँपालिका लौकहीस्थित झरुवा बस्तीका मुसहरहरूमा न्यानोका लागि घुर मात्रै एक विकल्प बनेको छ । कोशी गाउँपालिका–१ लौकही, वडानम्बर ७ स्थित सुकुम्बासी बस्ती होस् वा इनरुवा नगरपालिका क्षेत्रका मुसहर समुदायका दलित बस्ती हुन्, उनीहरूका लागि घुर नै जाडोबाट बच्ने सहारा हो । सुनसरीसहितका पूर्वी तराई मधेसमा बर्सेनि हिउँदमा शीतलहरको कहर हुने गरेको छ । 

विद्यार्थीलाई जाडोबाट बच्ने टिप्स 

सशस्त्र प्रहरीले कोशी गाउँपालिका–१ स्थित लौकहीका विद्यार्थीहरूलाई जाडोबाट बच्ने उपायका बारेमा जानकारी गराएको छ । केही दिनयता बढेको जाडोका कारण जनजीवन कष्टकर बनेको समयमा विद्यार्थीहरूलाई जाडोबाट बच्ने उपायका बारेमा जानकारी गराएको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए । पूरै शरीर ढाक्ने लुगा लगाउने, आवश्यक कामबाहेक घरबाट बाहिर नजाने, घुर बाल्दा आगलागीसमेत हुनसक्ने भएकोले बाल्टिनमा पानी राख्ने, ताजा र पोषिलो खानेकुरा खाने, तातोपानी खानेलगायत उपायका बारेमा जानकारी गराएको उनको भनाइ छ ।