धरान/ धरानको आकाशमा मङ्गलबार बिहानदेखि लागेको हुस्सु कतिपयकालागि असामान्य लागेको छ । हत्तपत्त बाक्लो हुस्सु नलाग्ने धरानको आकाशमा यसपटकको हिउँदे जाडोमा तराईमा लाग्ने शीतलहरको छनक दिने बाक्लो हुस्सु छाएकाले असामान्य लागेको हो ।

हिउँदको बेला तराईमा शीत लहर लाग्नु सामान्य प्राकृतिक गतिविधि मान्ने गरेका छन् जलवायु तथा मौसमविद्हरूले । तर, धरानको सवालमा बाक्लो हुस्सु लाग्नु स्थानीय बासिन्दाका लागि असामान्य हुन पुगेको छ । धरान–१४ विजयपुरका बासिन्दासमेत रहेका प्रा.डा. राजेन्द्र शर्माले लामो समयपछि धरानमा बाक्लो हुस्सु लागेको बताए ।

उनका अनुसार धरानको भौगोलिक अवस्था नै बाक्लो हुस्सु लाग्नेखालको छैन । उनले भने, ‘मलाई याद भएअनुसार ०६५ साल र ०६९ सालको हिउँदमा यस्तै बाक्लो हुस्सु लागेको थियो । ०६९ सालमा एकसातासम्म बाक्लो हुस्सु लाग्यो भने ०६५ सालमा करिब दुईसातासम्म बाक्लो हुस्सुले धरानको आकाश ढाक्यो ।’ 

धरान–१५ स्थित जल तथा मौसम विज्ञान कार्यालयका सहायक मौसमविद् अखलेश चौरसियाले धरान तीनतिर पहाडले घेरिएको भए पनि तराईसँग जोडिएकाले यहाँ शीतलहर जस्तै हुस्सु लागेको बताए ।

उनका अनुसार धरानमा पछिल्लो पटक लागेको बाक्लो हुस्सु शीतलहर नभए पनि त्यसको ‘भिजिविलिटी’ ५० मिटरभन्दा कम रहेको बताए । उनले भने, ‘मङ्गलबार धरानको तापक्रम न्यूनतम् १४ दशमलव ४ डिग्री सेल्सियस हुँदा पश्चिमी न्यून चापीय मौसम प्रणालीको कारण यसपटक धरानमा बाक्लो हुस्सु छाएको हो । यसले जाडोसँगै चिसो पनि बढाउन सक्छ । तर, कति दिनसम्म रहन्छ, यसै भन्न सकिन्न ।’

उनका अनुसार सामान्यतया सतहको माथि रहेको आद्र्र हावा अत्यधिक चिसो भएपछि जलकणको समूहमा परिणत भई वायुमण्डलमा बसिरहेको हुन्छ । धरानमा देखिएको हुस्सु एक किसिमको बादल नै हो । जुन सामान्य बादलभन्दा विपरीत धरातलसँग जोडिएर भिजिविलिटी कम गराउँछ । बाक्लो हुस्सु लागेको कारण अधिकांश सवारी चालकहरूले ‘फगी लाइट’ बालेर गाडी चलाएका थिए । सामान्यतया धरानमा हुस्सु लागे पनि पातलो लाग्ने र दिनमा हराएर जाने गरेको थियो ।