विजयपुर/ एनसेलले पाठ्यक्रममा आधारित श्रवणमा आधारित ‘एनसेल श्रवण कक्षा’ सेवा सुरु गरेको छ । 

एनसेल आजियाटा लिमिटेडले ‘एनसेल श्रवण कक्षा’ सेवा सुरु गरेको हो । एनसेलले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर) मा आधारित नयाँ सेवा ‘अनपज’ अभियानअन्तर्गत कक्षा सेवा ल्याएको हो ।

कक्षा १ देखि ४ सम्मका विद्यार्थीले पाठ्यक्रममा आधारित पाठहरू मोबाइलमा सुनेर सिक्न सक्ने जनाइएको छ । अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षालगायतका विषयहरू मोबाइलबाट सिक्न सक्ने एनसेलले बताएको छ । पहिलो चरणमा कक्षा १ देखि ४ सम्मका पाठ्यक्रमहरू उपलब्ध छन् भने आगामी दिनमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रमहरू उपलब्ध गराउने बताइएको छ । 

सेवा १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरूप सञ्चालन गर्न सकिने जनाइएको छ । सेवा लिन चाहनेले ‘श्रवण कक्षा’ प्याकहरू एसएमएस, युएसएसडी तथा वेब च्यानलमार्फत् पनि सञ्चालन गर्न सकिनेछ । श्रवण कक्षाका लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरू छन् ।

३ दिनको प्याकमा करसहित मात्र ७ मा ५० मिनेट र ७ दिनको प्याक करसहित १४ मा सय मिनेटको श्रवण कक्षाको सेवा लिन सक्नेछन् । कुनै श्रवण प्याक निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप श्रवण कक्षाको सेवा ७ मा पुनः सञ्चालन गर्न सकिनेछ । सेवा सञ्चालन गरिएको पहिलो ५ महिनासम्म श्रवण कक्षाको प्रत्येक नयाँ ग्राहकले एकसाताको लागि सेवा निःशुल्क प्रयोग गर्न सकिने एनसेलले जनाएको छ ।