भण्टाबारी/ भारतमा बर्डफ्लुको महामारी तीव्र फैलिइरहेका बेला सुनसरीका विभिन्न नाकाबाट लुकिछिपी कुखुरा भिœयाउने गरेकाले बर्डफ्लु फैलिने जोखिम बढेको छ ।
नेपाल सरकारले २०६३ सालबाटै भारतबाट पंक्षीजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, दैनिकजसो लुकिछिपी विभिन्न नाकाबाट भिœयाउन थालिएपछि भने बर्डफ्लुको जोखिम बढिरहेको हो । अहिले भारतमा बर्डफ्लु अत्यधिक फैलिएको छ । बर्डफ्लु भित्रिने जोखिम हुने भएपछि नेपाल सरकारले १४ वर्षअघि नै कुखुरा आयातमा रोक लगाएको थियो ।
सुनसरी प्रहरीले सोमबार मात्रै करिब ४६ हजार मूल्य बराबरको बोइलर कुखुरा बरामद गर्न सफल भएको छ । विभिन्न नाकाबाट भित्र्याइको कुखुरा बरामद गरिएसँगै बर्डफ्लु भित्रिने सम्भावना बढेको हो । पछिल्लो समय भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेको समाचार आइरहँदा सीमावर्ती क्षेत्रबाट कुखुरा तस्करी बढिरहेको छ ।
नेपालमा उत्पादित चल्लाभन्दा भारतमा सस्तो पर्ने भएकोले लुकाई–छिपाई बोइलर कुखुराको तस्करी हुँदा बर्डफ्लु सर्ने जोखिम बढेको पशु क्वारेण्टाइन कार्यालय विराटनगरका क्वारेण्टाइन अधिकृत अनित घिमिरे बताउँछन् । ‘भारतका विभिन्न ६ वटा राज्यमा बर्डफ्लु फैलिएको छ’ उनले भने, ‘खुला सीमाका कारण नेपालमा भित्रिन सक्ने जोखिम उच्च छ ।’
भारतमा फैलिएको बर्डफ्लु कुखुरा र चरासँगै मान्छेमासमेत सर्न सक्ने भएकोले पंक्षीजन्य पदार्थ भित्रिनबाट रोक्न सीमामा विशेष सावधानी अपनाउनुपर्ने घिमिरेको भनाइ छ । भारतमा देखिएको बर्डफ्लु नेपालमा समेत भित्रिन सक्ने भएकोले सुनसरी, मोरङ, सप्तरी र सिरहा जिल्लाका प्रहरी प्रशासनलाई यसतर्फ विशेष सतर्कता अपनाउन भन्दै परिपत्र गरिएको उनले जानकारी दिए ।
बोइलर कुखुरा नष्ट
भारतीय बजारबाट लुकाई–छिपाई ल्याइएका बोइलर कुखुरा नष्ट गरिएको छ । सुनसरी प्रहरीले भारतबाट ल्याइएका कुखुरा कोशी गाउँपालिका–८ बाट नियन्त्रणमा लिई सोमबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतबाट ल्याइएका ७४ थान अन्दाजी २ सय ३० केजी बजार मूल्य ४६ हजार पर्ने बोइलर कुखुरा पशु अधिकृतको उपस्थितिमा नष्ट गरेको प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
‘भारतमा बर्डफ्लु भेटिएपछि नेपालमा सर्ने सम्भावना उच्च हुन्छ’ क्वारेण्टाइन अधिकृत घिमिरेले भने, ‘त्यसैले जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छौं ।’ कुखुरा तस्करी भइरहँदासमेत सरकारी निकाय गम्भीर नबनेको नाम उल्लेख नगर्ने शर्तमा एक कुखुरा व्यवसायीले बताए । उनले भने, ‘दुई–चार पैसा दिँदा छाड्ने गरिएको छ । जसको कारण बर्डफ्लु भित्रिनुका साथै हाम्रो व्यवसायसमेत चौपट हुने अवस्थामा छ ।’
चोरबाटो हुँदै ल्याइने वस्तु रोकथाम तथा नियन्त्रण गर्ने दायित्व सीमा सुरक्षा प्रहरी र भन्सारलगायतको भएको बताउँदै घिमिरेले यस विषयमा उनीहरूको समेत ध्यानाकर्षण गराइएको बताए । भारतमा बर्डफ्लु भेटिएपछि सीमामा उच्च सतर्कता अपनाइएको बताउँदै एसपी थापाले सीमावर्ती क्षेत्रमा हुँदै आएको कुखुरा तस्करी रोक्न निर्देशन दिएको बताए । सीमावर्ती क्षेत्रका ग्रामीणभेगका नाका प्रयोग गरी दैनिक रूपमा खुलेआम नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा भित्रिने गरेको पाइन्छ ।
भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइने त्यस्ता कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पु¥याउने गरिएको छ । भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट बोइलर कुखुरा नेपाल भित्र्याइन तस्करहरू सक्रिय रहेका छन् ।