विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजार्नी विभागका प्रमुख डा. पशुपती चौधरीद्वारा लिखित तथा सम्पादित चार पुस्तक शुक्रबार बिमोचन भएका छन् । 

प्रतिष्ठानको अडिटोरियम हलमा भएको कार्यक्रममा भाषाविद् प्रा.डा. टंक न्यौपानेले पुस्तकहरु विमोचन गरेका हुन् । उनको पहिलो पुस्तक ‘ढाडको दुखाई, समस्या र समाधान’ रहेको छ । त्यो पुस्तकमा ढाड किन दुख्छ ? कति घातक हुन्छ ? उपचारको पद्धती कस्तो हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? भन्ने जस्ता विषयहरु समेटिएको डा.चौधरीले वताए । 

अर्को पुस्तक ‘हाडजोर्नी समस्या, समाधान र अन्य समसामयिक विषयमा मेरो विचार’ रहेको छ । यो पुस्तकमा पनि के, कसरी हाड जोर्नीको समस्या हुन्छ ? यसको समाधन कसरी गर्न सकिन्छ ? जस्ता विषयवस्तु समेटिएको छ । त्यस्तै अर्को पुस्तक ‘डाक्टर प्यासेन्ट कम्युनिकेसन स्किल’ रहेको छ । उक्त पुस्तकमा चिकित्सकले बिरामीहरुलाई कस्तो व्यवहार गर्नुपर्छ ? एउटा बिरामीलाई कति समय दिनुपर्छ? अस्पतालको नेतृत्व कस्तो हुनुपर्छ ? मानव र हात्तीविचमा द्वन्द्व किन हुन्छ ? ‘ग्लोवल वार्मिङ’ले मानवको स्वास्थ्यमा कस्तो असर पारेको छ ? मानिसले आफ्नो कामलाई कसरी व्यवस्थापन गरेर आफु र परिवारलाई खुसि बनाउन सकिन्छ ? कोभिड १९  र यसको प्रभाव जस्ता विषयहरु रहेको डा. चौधरीले. जानकारी दिए । चौथो पुस्तक थारु जातीको उत्पति र इतिहाास ( थारु हिस्ट्री एण्ड ओरिजिन) रहेको छ । उक्त पुस्तक थारु जातीकोे विश्वको इतिहासलाई समेटेको डा. चौधरीले बताए । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.–१ का सभामुख प्रदिपकुमार भण्डारी रहेका थिए । कार्यक्रममा विगठित प्रतिनिधिसभाका सदस्य घनश्याम खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई,  १ नं. प्रदेशसभाका सदस्यहरु, दुहवी नगरपालिकाका प्रमुख, प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।