धरान । धरानका सन्देश बम्जन लामा गायन प्रतियोगीता ‘वाईवाई नेपाल स्टार’को उत्कृष्ट ६ मा छानिएका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार राती प्रशारण हुँदै आएको ‘वाईवाई नेपाल स्टार’मा उत्कृष्ट गायन प्रस्तुतीसँगै दर्शकको छनोटमा पर्दै आएका सन्देश गत शनिबारको प्रस्तुतीसँगै उत्कृष्ट ६ मा परेका हुन् । सन्देशको गायनलाई निर्णायकहरुले पनि प्रशंसा गर्दै आएका छन् ।

प्रतियोगीताको अडिसनमा सहभागी देशभरका हजारौं प्रतिष्पर्धी मध्ये उत्कृष्ट १२०मा छनोट भएपछि ‘वाईवाई नेपाल स्टार’मा सन्देशको यात्रा सुरु भएको थियो । १२० बाट निर्णायकहरुबाट उत्कृष्ट १८ मा छानिन सफल सन्देश त्यसपछि उत्कृष्ट १४, उत्कृष्ट १० मा छानिंदै अगाडि बढे । दर्शकको भोटका आधारमा छनोट हुँदै आएका उनलाई विजेता बन्नका लागि उत्कृष्ट ६ बाट उत्कृष्ट ५, उत्कृष्ट ४ हुँदै फाईनलमा पुग्नु आवश्यक छ । 

बाल्यकालदेखि नै संगीत क्षेत्रमा रुचि राख्ने सन्देश पढाईसँगै संगीतमा निरन्तर लागिरहे । परिवारको आर्थिक अवश्था कमजोर भएका कारण सानैदेखि औपचारिक रुपमा संगीत सिक्न नपाएका सन्देश आफ्नै अभ्यास र मिहिनेतले गायनमा अघि बढेको उनका बुवा पशुपति तामाङ बताउँछन् । उनी भन्छन् ‘उसले आफैं दुःख गरेर यो अवश्थामा आईपुगेको हो । ऊ वाईवाई नेपाल स्टारको विजेता बन्न सके देशको संगीत क्षेत्रमा योगदान दिन सक्छ ।’

ब्याचलरसम्म अध्ययन गरेका सन्देश विभिन्न रेष्टुरेन्ट र कन्सर्टमा गाउँदै आएका थिए । उनी वाईवाई नेपाल स्टारमा छानिएपछि उनलाई जिताउन धरानमा ‘सन्देश बम्जन लामा विजय गराउँ प्रचार प्रसार समिति’ गठन गरेर अभियान चलाईएको छ । धरानको भानुचोकमा सन्देशलाई जीताउन भोटको अपिल गर्दै अभियान सञ्चालन गरिएको छ ।

सन्देशको परिवारले संसारभर रहेका नेपालीहरुलाई भोट गरी जीताउन आग्रह गरेको छ । सन्देशलाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा NS13 टाइप गरी 33001 मा पठाउनु पर्नेछ । भोटिङ लाईन प्रत्येक शनिबार बेलुकी ९ बजेदेखि विहिबार राती १२ बजेसम्म खुल्ला रहने बताइएको छ ।