भद्रपुर । २१ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर शुक्रबार झापामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्लामा सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालन भइरहेको भद्रपुर नगरपालिकामा जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको हो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा झापामा परियोजना सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रको आयोजना र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अन्तरक्रियामा झापाको वैदेशिक रोजगारको अवस्था, समाजमा यसले पारेका सकारात्मक तथा नकारात्मक प्रभाव, वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सरकारीस्तरमा उपलब्ध गराइने सीप तालिम तथा परामर्श सेवाका कार्यक्रमबारे परियोजनाका कार्यक्रम संयोजक फणिन्द्र दाहालले जानकारी गराएका थिए ।

उनका अनुसार यसै आर्थिक वर्षको पाँच महिनामा लगभग ४२ सय जनालाई परामर्श प्रदान गरिएको, वैदेशिक रोजगारसम्बन्धी ३७ वटा मुद्दा समाधान गरिएको, २० जनाभन्दा बढीलाई सीप तालिमका लागि सिफारिस गरिएको छ ।

अन्तरक्रिया नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । झापामा भद्रपुर, मेचीनगर र दमक नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम निर्देशक रुद्र सिटौलाले जानकारी दिएका छन् ।

०७६ कात्तिकबाट शुरु भएको कार्यक्रम कोभिड–१९ का कारण सञ्चालन गर्न नसकिएकोले अब भने गाउँस्तरबाट नै गहिरो रुपमा सचेतना जगाउँन सुरु गरिएको उनले बताए ।