विराटनगर/ विराटनगर–९ घोघापुल चौकका ४३ वर्षीय सञ्जयप्रसाद रौनियार ‘मन्टु’ उपनामले चिरपरिचित छन् । उनले समाजमा परम्परागतरूपमा चल्दै आएको सामन्तीप्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने गरेको पीडितहरूले बताएका छन् ।
प्रायः उनीसँग ऋण लिन आउने अति विपन्न परिवारका छन् । साहु मन्टुले उनीहरूलाई गलत नियतले ऋण दिएर ऋणी बनाउने गर्थे भने सोही रकमको ब्याजदेखि स्यासजसम्म असुली गर्ने गरेको ऋण लिनेहरूले बताएका छन् । पीडित ऋणीहरूले उनको ऋण तिर्न नसकेर कतिपयले आत्महत्या नै गरेको स्थानीयले बताए ।
मोरङ धनपालथान गाउँपालिका–७ का ३६ वर्षीय विनोदकुमार सिंहले २०६९ चैत १ गते मन्टुसँग ३ लाख रूपैयाँ ऋण लिएका थिए । विनोदको आमा ५६ वर्षीय फगनीदेवी सिंहको नाममा कदमाहा–७ मा रहेको कित्ता नम्बर ८५ को ९ कठ्ठा ७ धुर जमिन मन्टुको नाममा पास गराएपछि ऋण दिएका थिए । विनोदले आमाको जग्गा रौनियारको नाममा राजीनामा पास गरि ३ लाख ऋण लिएको भए पनि १२ लाखको तमसुक बनाएको बताए । ‘विभिन्न मितिमा १२ लाख रूपैयाँ मन्टुलाई बुझाइसकेको छु’ विनोदले ब्लाष्टसँग भने, ‘अझै ३५ लाख रूपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता गर्ने र तमसुक च्यात्ने भन्दै आएका थिए ।’
मिटरब्याजको हिसाबले जोडेको रकम माग्दै मन्टुको मान्छे घरमा आएपछि आमा फगनीदेवीलाई दबाव दिन थालेका थिए । ‘ऋण लिएको पैसा तिर भन्दै मन्टुले दबाव दिन थालेका थिए । जसले गर्दा आमालाई मानसिक दबाव पर्न थाल्यो । ऋण तिर्नुपर्ने दबावले आमाको पनि २०७६ पुस ९ गते मृत्यु भयो’ –विनोदले भने । मन्टुले घरमै आएर ताकेता गर्न थाले । दिनहुँ ताकेता र गाली गलौज सहन नसकेर आमाले पनि अकालमै ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।
विनोदका बाबु भूपेन्द्रको आमाभन्दा पहिला २०७३ मा नै मृत्यु भएको थियो । आमा र बाबुको मृत्युपछि पनि मन्टुले ऋणको १० गुणाभन्दा बढी रकम चुक्ता गर्न दबाव दिन थालेको विनोदले बताए । मन्टुबाट ऋण लिएकाहरूका अनुसार ऋण दिने बेलामा मीठो मीठो कुरा गर्ने तर, ऋण लिइसकेपछि त्यसको केही वर्षपछि अर्को कागज बनाउन ऋणीलाई दबाव दिएर चर्को रकम असुली गर्ने गर्छन् ।
मन्टुबाट ऋण लिएर पीडा झेल्दै आएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेन पनि हुन् । उनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा पनि जग्गा फिर्ता नपाएको बताए । उनका बाबुआमाले ११ कठ्ठा जग्गा धितो राखेर रौनियारसँग चार लाख रूपैयाँ लिएका थिए । बाबुको नामको तीन र आमाको नामको आठ कठ्ठा गरी ११ कठ्ठा धितो राखेर रौनियारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए ।
यो सात वर्षअघि हो । मञ्जर यो ऋण तिर्न पाँच वर्ष कतार बसे । पाँच वर्षमा उनले ३६ लाख ब्याज तिरेपछि आमाको नाममा राखेको धितो जग्गा रौनियारले फिर्ता गरे । तर, बाबुको नाममा राखेको धितो फिर्ता दिन मानेनन् । यो बीचमा मञ्जर कतारबाट आएर धेरैपटक रौनियारकहाँ धाए । तर, रौनियारले जग्गा फिर्ता दिएनन् ।
‘लकडाउनको बेला कतारबाट फर्केर आएँ, मन्टुकहाँ गएर जग्गा फिर्ता गरिदिनुस् भन्दा अरू ६८ लाख तिरेपछि मात्र फर्काइदिन्छु भने’ हुसेनले भने, ‘यसरी हामीलाई कङ्गाल बनाउन खोजेपछि उजुरी दियौं ।’
रौनियारले चार लाखको ४७ लाख र दुई लाख लगानी गरेर ८५ लाख असुल गरेका सर्वसाधारण पनि रहेको हुसेनले बताए । उनीहरूजस्तै सय बढी सर्वसाधारण पीडित रहेको हुसेनको भनाइ छ ।
मन्टुसँग मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी र विराटनगरका विभिन्न स्थानका बासिन्दाले वैदेशिक रोजगारीमा जान, घरायसी समस्या वा छोराछोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर, मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् ।
उनीबाट ठगिने पीडितको सङ्ख्या बढ्दै गएको छ । उनीसँग ऋण लिएकाले उजुरी दिएपछि मोरङ प्रहरीले मन्टुलाई २९ मङ्सिरमा घरैबाट पक्राउ गरेको थियो । मन्टु पक्राउ परेपछि मोरङ प्रहरीमा लिखित जाहेरी दिने एक दर्जन बढी भइसकेको प्रहरीले जनाएको छ । पीडितको उजुरीपछि रौनियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘अहिले म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं । आरोप पुष्टि हुने प्रमाण सङ्कलनमा हामी लागिपरेका छौं ।’
मन्टुको पैसा उठाउन गाउँमा एजेण्ट
मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेण्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठान एजेण्ट गाउँमा खटाउने गरेको मन्टुबाट ऋण लिएर पीडा झेल्दै आएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले बताए । ‘कसैलाई गाह्रो परेर पैसा आवश्यक प¥यो भने मन्टुले खटाएको एजेण्टमार्फत् पनि ऋण दिने गरेका छन्’ हुसेनले भने, ‘ऋण दिएको भाकामा ब्याज बुझाएन भने एजेण्ट र मन्टु दुवै जना भएर ताकेता गर्दै दबाव पनि दिने गर्दछन् ।’ पीडितका अनुसार मन्टुको तीन दर्जन बढी गाउँमा एजेण्ट परिचालन गर्ने बताएका छन् ।