धरान/ नेपाल खानेपानी संस्थान धरान शाखालाई कात्तिक २६ गतेभित्र धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभ्ने भनिए पनि अब मात्रै प्रक्रिया अगाडि बढेको सङ्केत मिलेको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डले नगर प्रमुख तिलक राईको निर्देशनअनुसार मङ्गलबार पुस १ गतेबाट संस्थानलाई खानेपानीको आर्थिक कारोबार नगर्न पत्राचार गरिएपछि बोर्डमा गाभिने सङ्केत देखिएको हो ।
अन्य हस्तान्तरणको प्रक्रियाका लागि भने खानेपानी संस्थानले मर्मत गर्न बाँकी रहेका सम्पूर्ण संरचना सकिएपछि मात्रै गाभिने बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।

उनले भने, ‘आर्थिक कारोबार बन्द गर्न भनेर पत्राचार गरेका छौं, अन्य सम्पत्ति तथा दायित्व चाहिँ मर्मत गरेर दिएकै दिनबाट सुरु भइहाल्छ ।’ कात्तिक ५ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २६ गतेभित्र संस्थानलाई बोर्डमा गाभ्ने निर्णय गरेको थियो । पटक–पटक गाभ्ने भन्दै आए पनि विवाद र प्राविधिक समस्याका कारण गाभिन सकेको थिएन ।

‘मेयरज्यूले नै निर्देशन गरेपछि हामीले पत्राचार गरेका हौं’ पोखरेलले भने, ‘संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठले पनि पत्र लिइसक्नु भएको छ, जतिसक्दो चाँडो गर्नेछौं भन्नुभएको छ ।’ यता संस्थानका निमित्त प्रमुख श्रेष्ठलाई फोन सम्पर्क गर्दा फोन स्वीचअफ रहेको पाइयो । संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया अझै केही लम्बिने देखिएको छ ।

हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी मर्मत तथा सम्भारमा केही दिन लाग्ने देखिएकाले पनि गाभ्न केही दिन लाग्ने भएको हो । प्रतिष्ठानले पनि ५ सदस्यीय प्राविधिक टोली गठन गरिसकेको छ । टोलीले सात दिनभित्रमा प्रतिवेदन बुझाउने भएको छ ।

यता खानेपानी संस्थान बोर्डमा गाभिने भएपछि दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समितिका पदाधिकारीहरूले विरोध जनाएका छन् । बुधबार संस्थानको कार्यालय घेराउ गर्दै काउण्टर खुल्ला गर्न माग गरेका हुन् । नखोलेमा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।