खादबारी । संखुवासभामा सडक दुर्घटना बढ्न थालेको छ । सडकको अवस्था तथा चालकको लापरबाही नै दुर्घटनाका मुख्य कारण हुन । भत्किएको सडक निर्माणमा सरोकारवाला निकाय जिम्मेवार नबन्दा दुर्घटना बढेको सर्वसाधारणको आरोप छ ।

मोटरसाईकल दुर्घटनाबाट गत शुक्रबार खाँदबारीमा बसोबास गर्ने दिवस राईको ज्यान गयो । उनीसँगै सवार मनोज सुनुवार गम्भिर घाइते भए । उनको उपचार भइरहेको छ । यस्ता दुर्घटना दैनिकजसो हुने गरेका छन् । विगतको तथ्यांक हेर्दा दुर्घटना अझै बढ्दै गएको छ ।

भत्किएका सडक तथा चालकको लापरबाहीले दुर्घटना बढेका हुन् । दुर्घटना न्यूनिकरण गर्न सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने स्थानीयको भनाइ छ । खाँदबारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सञ्जय देवानले नियमित सडक मर्मत नगरेको र मर्मतमा सरोकारवालाहरुले गरेको वेवास्ताका कारण यस्ता दुर्घटना बढेको बताए ।

सदरमुकाम खाँदबारीदेखि तुम्लिङटार पुरानो र पिच गरिएको खाँदबारी नगरपालिकाको प्रमुख सडक हो । यत्तिबेला यो सडकका बीचबीचमा खाल्डा परेका छन् । सडक भत्किएर अस्तव्यस्त छ । तर सडक मर्मतमा कसैले चासो नदेखाएको स्थानीय बुद्रोस मेवाहाङको भनाई छ । उनले सानो सडक, घुम्ती र बीचबीचमा परेको खाल्डाखुल्डीका कारण दुर्घटना हुने गरेको बताए ।

जिल्ला सदरमुकाम खाँदबारीसंग जोडिएको कोशी राजमार्गको व्यस्त सडकमा घुम्तीपिच्छे खाल्डाखुल्डी भैसकेका छन् । अरुण तेस्रो लगायतका ठुला आयोजनाका ठुला मालवाहक सवारीसाधनहरुकोे चाप बढेसँगै राजमार्गको हालत दिनप्रतिदिन कष्टकर र जोखिमपूर्ण बन्दै गएको छ ।

जसको सहजताको लागि सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिंदा यस्तो समस्या भएको उपभोक्ताहरुको आरोप छ । तुरुन्त भत्किएका सडकहरुलाई मर्मत नगरे यस्ता दुर्घटनाहरु दोहोरिरहनेछन् । यस्ता दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।