यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन कालोपत्रेको काममा स्थानीयले अवरोध गरेका छन् । केही स्थानीयले व्यक्तिको जग्गा मिचेर सडक बनाइएको भन्दै स्थानीयले बखेडा झिकेका हुन् ।

जिल्लाको व्यापारिक मार्ग पर्ने सडक प्रदेश सरकारको लगानीमा सुरु भएको हो । योजनाको काम ढिलो भएको विषयमा ब्लाष्ट राष्ट्रिय दैनिकमा पटक–पटक समाचार प्रकाशित भएको थियो । जग्गा परेको नपरेको विषयमा सर्वदलीय र सर्वपक्षीय सहजीकरण समिति गठन गरे पनि जग्गावालाहरू बैठकमै उपस्थित नभएको र योजनाको काम अगाडि बढाउँदा पनि विरोधको स्वर उरालेको समितिका सदस्य जकेन्द्र लावतीले बताए ।

काममा अवरोध गरेर प्रदेश सरकारको योजना असफल बनाउने खेलमा स्थानीय लागेको उनको आरोप छ । यता विवाद समाधानका लागि लामो समयदेखि प्रयास हुँदा समेत काम गर्ने वातावरण नबनेको निर्माण व्यवसायी सीतादेवी बस्नेतले बताइन् । ‘काम नगर्दा बजारमा धुलो उड्यो भन्दै इस्यु बनाउने, अनि अहिले काम गर्दा पनि अवरोध गर्ने ? हलो अड्काएर गोरु चुट्ने काम गरियो’ उनी भन्छिन्, ‘विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार काम गर्न पनि नदिने, हामी सहमति निकाल्छौं पनि भन्ने तर, सहमतिमा कहिल्यै नआउने ?’ यासोक बजारको खानेपानी कार्यालयमा जाने सडकमा जग्गावालाकै कारण विवाद उत्पन्न भएको छ ।

विवाद समाधान गर्न पटक–पटक बैठक बसे पनि निष्कर्ष नआउँदा समस्या भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । दीर्घकालीन लक्ष्यका साथ काम गर्नुपर्ने ठाउँमा स्थानीय सरकारलाई असहयोग गरिएको चेम्जोङको भनाइ छ । प्रदेश सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहितको १० करोड ५२ लाख ४६ हजार ३ सय ५५ रुपैयाँमा सहरी विकास तथा भवन कार्यालय इलामले सियम कृष्ण–लक्ष्मी जेभी काठमाडौंलाई ठेक्का दिएको थियो । साढे तीन किलोमिटर बजारको कालो पत्रेको काम अघि बढाएको निर्माण व्यवसायीले अवरोध सिर्जना भएपछि अहिले काम प्रभावित भएको बताएको छ । उनले काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।