धरान/ कम तौल भएको ग्यास बिक्री गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१४ बाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मङ्गलबार मलाहा रोडका मनिष यादवलाई पक्राउ गरेको हो । उनले ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सारेर कम तौल बनाई बिक्रीवितरण गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनको पसलमा खानतलासी गर्दा ठूलो ग्यास सिलिण्डर ११ थान, सानो ग्यास सिलिण्डर २ थान, तौल गर्ने मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिङ्क गर्ने पाइप एक थान फेला पारेको उनले जानकारी दिए ।

यादवलाई नियन्त्रणमा लिई ठगी विरुद्ध उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको छ । यसअघि पनि विराटनगरबाट कम तौल भएको ग्यास बिक्री गरेको आरोपमा एक व्यापारी पक्राउ परेका थिए । तत्कालीन अवस्थामा कोशी ग्यास मा कम तौल भएको फेला परेको थियो ।