भण्टाबारी/ जनशक्ति अभावका कारण सुनसरीका सीमाक्षेत्रमा बीओपी स्थापना गरिए पनि आपराधिक गतिविधि प्रभावकारी नियन्त्रण हुन सकेको छैन । सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमाना छ ।
जिल्लामा ६ सय ५० जना सशस्त्र प्रहरी कार्यरत छन् । हालसम्म दशवटा बीओपी स्थापना भइसकेको छ । इन्स्पेक्टरको नेतृत्वमा रहने बीओपीमा २५ देखि ३० जना सशस्त्र प्रहरी खटिँदै आएका छन् । सीमाबाट हुनसक्ने सम्भावित घटना तथा अन्य गतिविधिलाई नियन्त्रण गर्न बीओपीको सङ्ख्या बढाउँदै लगिएको छ तर, जनशक्ति अभावका कारण प्रभावकारी रूपमा नियन्त्रणमा ल्याउन नसकिएको प्रहरी अधिकारी नै बताउँछन् ।
उपलब्ध जनशक्तिले गस्ती, सीमा सुरक्षाका साथै अपराध तथा चोरीपैठारी नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका गणपति एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । ‘आवश्यकता अनुसार जनशक्ति छैनन्, एकजना सशस्त्र प्रहरीले गस्ती गर्नुभन्दा पोष्ट कुर्दै बस्छौं । कहीँकतैबाट कुनै सूचना आयो भने दुई–चारजना लिएर जान्छौं’ –उनले भने ।
भारततिर प्रत्येक पाँच किलोमिटरको दूरीमा पोष्ट छन् । नेपालमा भने १० देखि १५ किलोमिटरको दूरीमा मात्रै पोष्ट रहेको छ । एसपी पौडलका अनुसार एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्न निकै चुनौती रहेको छ । सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्तिसँगै साधनस्रोतसमेत थप्नु पर्ने बाध्यता पनि रहेको उनको भनाइ छ ।
हाल डिएसपीको नेतृत्वमा रहने बेसक्याम्पमा ३५ देखि ४० जना सशस्त्र प्रहरी कार्यरत हुन्छन् । पोष्ट बढाउँदा जनशक्तिसँगै साधनस्रोत, पूर्वाधार, आवत–जावतका लागि निश्चित र व्यवस्थित प्रवेश पोइण्ट, गस्ती गर्न सवारीसाधन, टेक्नोलोजी उपलब्ध भएको अवस्थामा गस्ती गर्न सहज हुने उनको कथन छ । खुल्ला सीमाका कारण सीमा स्तम्भ, अपराध नियन्त्रण तथा चोरीपैठारी नियन्त्रण मुख्य चुनौती रहेको छ ।
दश बीओपीमध्ये पाँचवटा बेसक्याम्प छन् । पछिल्लो पटक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ उल्टीमा एउटा बीओपी थपिएको छ । नयाँ बीओपीको सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेलले उद्घाटन गरे । एआईजी पौडेल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागका विभागीय प्रमुखसमेत हुन् ।
उल्टीमा उद्घाटन गरिएको बीओपी स्थानीयवासीको आर्थिक सहयोगमा सशस्त्र प्रहरी आफैले बनाएको हो । भोक्राहा नरसिंह गाउँपालिकाले उपलब्ध गराएको जग्गामा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको हो । उल्टीमा निर्माण गरिएको बीओपी सशस्त्र प्रहरीको १ सय ९३ औं बीओपी हो ।
देशभर ५ सय बीओपी पु¥याउने योजना रहेको एआईजी पौडेलले बताएका थिए । सुनसरीमा थप सातवटा बीओपी स्थापना गर्ने योजना रहेको एसपी पौडेल बताउँछन् ।