दमक/ झापाको दमक नगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने भएको छ ।  खेर गइरहेको फोहोरलाई एकीकृत गरी त्यसलाई प्रशोधन गरेर ग्यास र प्राङ्गारिक मल निर्माणको काम थालिएको छ । दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ग्यास उत्पादनका लागि पक्की संरचना बनिरहेको छ ।

सामुदायिक वनले नगरपालिकाले सीमित क्षेत्र प्रयोग गर्न अधिकार दिएकोले त्यहाँ नगरपालिकामार्फत् काम हुँदै गरेको हो । ३ बिगाहा क्षेत्रफलमा निर्माण हुँदै गरेको प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास तत्काल २ हजार २ सय परिवारलाई पुग्ने गरी वितरण गरिनेछ । पाइपमार्फत् उपभोक्ताको घरमा पु¥याउने योजना सहित सुरु गरिएको यो परियोजना निर्माणका लागि दमक नगरपालिकाले २० करोड ५८ लाख ९७ हजार ६ सय ५९ रुपैयाँ लागतमा काम सुरु गरेको छ । यो कामको भौतिक निर्माणको जिम्मा नेस्कटइरा इनर्जी प्रालि÷रोहन ट्रेडर्स जेभीले काम गरिरहेको छ ।

यो परियोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ५ करोड ८८ लाख २७ हजार ९ सय २ रुपैयाँ रकम प्राप्त भएको छ भने बाँकी १४ करोड ७० लाख ६९ हजार ७ सय ५७ निर्माण कम्पनीको लगानी रहेको छ । २०७६ साल माघ १० गते यो परियोजना निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार एक वर्षभित्र आवश्यक संरचना निर्माण भइसक्नु पर्ने हो । अर्थात् आगामी माग १० गतेभित्र बनि सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

तर, कोरोना कहरका कारण लकडाउनको अवधिमा विभिन्न देशबाट ल्याउनुपर्ने सामान र प्राविधिक समयमा ल्याउन नसकिएका कारण आयोजना सम्पन्नको मिति केही पर धकेलिने निश्चित देखिएको छ । अघिल्लो वर्षको चैत २० गते काम गर्न सुरु भएको थियो । अधिकतम् अर्को वर्षको दशैंअघिसम्ममा दमकको फोहोरबाट प्राङ्गारिक मल र बायो ग्यास उत्पादन भइसक्नेछ ।

यो परियोजना निर्माण सम्पन्न भएपछि यहाँबाट प्राङ्गारिक मल र बायोग्यास उत्पादन हुनेछ । अहिले बजारबाट सङ्कलन गरेर ल्याएको फोहोर प्रशोधन गर्न प्रयोग गरिने ट्याङ्क निर्माण भइरहेको छ । यसको जमिनमुनीको काम सम्पन्न भइसकेको र अब बाहिरी स्वरूपको काम सुरु भएको र अन्य सहायक संरचनाहरू बनिरहेको निर्माण कम्पनीका सञ्चालकमध्ये एक विमल खतिवडाले जानकारी दिए ।

यो परियोजना उत्पादन दिन सुरु भएको २० वर्षपछि स्वतः सरकारको हुनेछ । उत्पादन भएको बायोग्यास उपभोक्ताको घर–घरमा पु¥याउन त्यस अवधिमै पाइप बिछ्याउने काम भएमा उत्पादन सुरु भएकै दिनदेखि बायोग्यास उपभोक्ताको चुलोसम्म पुगिसक्ने निर्माण कम्पनीका अर्का सञ्चालक युवराज घिमिरेले बताए ।

दमकमा दैनिक १५ देखि २० टन फोहोर सङ्कलन हुन्छ । यो फोहोरलाई अहिले रतुवा खोलामा लगेर पुर्नेबाहेक अन्य केही पनि काम हुन सकेको छैन । ४ वर्षअघि माथवे नेपालले दमकको फोहोरलाई प्रशोधन गरेर जैविक मल उत्पादन गरी नगरपालिकालाई आम्दानी दिने भनेर काम गरेको थियो । तर, त्यसले सफलता पाउन नसकेपछि नगरपालिकाले अर्को विकल्प सोचेर नयाँ परियोजना सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले वैकल्पिक ऊर्जा प्रवद्र्र्धन बोर्डले देशभरिका ठूला नगरहरूमा फोहोरलाई प्रशोधन गर्ने योजना ल्याएपछि दमकले समेत यो काम सुरु गरेको हो ।

परियोजना सरु भइसकेपछि दमकमा उत्पादित फोहोरको सही सदुपयोग भएर नगर सफा र सुन्दरका साथै आंशिकमात्र भए पनि एलपीजी ग्यासको मागलाई प्रतिस्थापन गर्न मद्दत पुग्ने नगर प्रमुख रोम ओलीले बताए । यसले स्थानीय उत्पादनलाई बढावा गराएर यहाँको स्रोत यहीँ खर्च गरी यहीँका उपभोक्ताले खरिदसमेत गर्दा दमकको पैसा बाहिर जानबाट रोकिने भएकोले यो परियोजना निकै महŒवपूर्ण रहेको उनले दाबी गरेका छन् ।