धरान/ धरान उपमहानगरपालिका–४ गैरीगाउँस्थित पञ्चरत्न बालविकास केन्द्रको जीर्ण भवन मर्मतका लागि २० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
भवनको जीर्ण अवस्थामा रहेका काठका खम्बा परिवर्तन गरेर सिमेण्टको पिल्लर निर्माणका लागि ‘डिल्ली फोम्बो एण्ड द ब्याण्ड’ ले सुरु गरेको अभियानमा हाल हङ्कङ निवासी धरान–१५ का समिर मगरले २० हजार रुपैयाँ प्रदान गरेका हुन् । मगरले स्वर्गीय माता कर्णमाया लुङ्गेली मगरको स्मृतिमा बालविकास केन्द्रको भवन मर्मतका लागि रकम प्रदान गरेका हुन् । भवनमा पिल्लर फेर्नका लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले आवश्यक सिमेण्ट उपलब्ध गराउने प्रतिबद्धता गरेको बालविकास केन्द्र व्यवस्थापन समिति अध्यक्ष पञ्चबहादुर राईले बताए ।
हरेक वर्ष साङ्गीतिक कार्यक्रम आयोजना गरेर विभिन्न विद्यालयलाई सहयोग गर्दै आएका गायक डिल्ली फोम्बोले यसपटक साङ्गीतिक कार्यक्रम गर्ने अवस्था नरहेकाले दाताहरूसँग सहयोग जुटाएर बालविकास केन्द्र भवन मर्मत गर्न अभियान चलाएको बताए । गायक फोम्बोले बालविकास केन्द्रमा पढ्ने बालबालिका बस्नका लागि १६ थान चकटी व्यक्तिगत रूपमा सहयोग गर्ने बताए ।
उनले अघिल्लो वर्ष पनि ऊर्जा ब्याण्डका प्रशान्त शर्मा र दिनेश ढुङ्गेलसँगको सहकार्यमा ‘फेस्टिवल हङ्गामा’ कार्यक्रमको आयोजना गरी सङ्कलन भएको रकम र दाताबाट जुटाएको सहयोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको महाभारत आधारभूत विद्यालयमा शैक्षिक सामग्री र विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका थिए । सोही विद्यालयलाई केही महिनाभित्र ३–३ थान डेस्क–बेच्न र साना बालबालिकाका लागि ४ थान डेस्क वितरण गर्ने कार्यक्रम रहेको गायक फोम्बोले बताए ।