बिर्तामोड । झापामा ८ महिनापछि बिद्यालयमा पठन पाठन शुरु हुन थालेको छ । ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी भएपछि जिल्लामा विद्यालय सञ्चालन हुन थालेको हो । कार्यढाँचामा उल्लेख भएको मापदण्ड पुरा गरेका बिद्यालयमा पठन–पाठन शुरु भइसकेको छ भने अन्य बिद्यालयले पनि सोही अनुसार तयारी गरिरहेको बताएका छन् ।

कोभिड–१९ को त्रासका कारण गतबर्षको चैत्रदेखि बन्द रहेका बिद्यालय खुल्न थालेका हुन् । तोकिएको सुरक्षा मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्न थालिएको सरोकारवालाले बताएका छन् ।

झापाका सबै स्थानीय तहमा अहिले विद्यालय सञ्चालन बारे आवश्यक छलफल, अन्तरक्रिया शुरु भएको सरोकारवालाले बताएका छन् ।

कार्यढाँचाले व्यवस्था गरे बमोजिम विद्यालयहरुले योजना बनाइरहेका छन् । केहि विद्यालयहरुमा पठनपाठन शुरु नै भइसकेको छ । कचनकवल गाउँपालिकाले बिद्यालय सञ्चालन गर्न थालेको छ । कचनकवलमा धमाधम बिद्यालय खुल्न थालेका छन् ।

बिर्तामोडको दुर्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन शुरु गरेको छ । बिद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईका अनुसार कार्यढाँचा बमोजिमको मापदण्डमा विद्यालय सञ्चालन गरिएको छ ।

‘हामी दैनिक दुई चरणमा कक्षा सञ्चालन गर्छौं, भट्टराईले भने – आलोपालो तरिकाबाट विधार्थीलाई कक्षामा सहभागी गराइने छ ।

अर्जुनधारा नगरपालिकामा अभिभावक भेला गरेर बिद्यालय शुचारु गर्ने तयारी भएको छ । शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनालका अनुसार आगामी आइतबारदेखि बिद्यार्थीको भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ ।

‘अभिभावकको राय, सुझाव अनुसार बिद्यालय सञ्चालन गर्ने योजना रहेको छ, खनालले भने–‘बिद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा–२०७७ बमोजिमको तयारी हाम्रो छ ।’

झापाको मेचीनगरपालिकाले विधालयमा पठनपाठन शुरु गरेको छ । मेचीनगरसहित भद्रपुरले पनि विधालयमा विधार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाउन थालेको छ ।

स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिए पछि आवश्यक मापदण्ड पुरा गर्ने विधालयलाई सञ्चालनको अनुमति दिन थालिएको छ । पालिकाले विद्यालयसँग कार्ययोजना माग गर्ने र अनुगमनपछि अनुमति दिने गरिएको बताइएको छ ।