धनकुटा । महिला हिंसा गर्नेलाई कानूनी र नैतिक दण्ड दिइनुपर्ने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।
धनकुटा नगरपालिकाले बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनको छलफल कार्यक्रममा सहभागी वक्ताहरूले महिला हिंसा गर्नेलाई दुवै सजाय हुनुपर्ने बताए ।

महिला भएकै कारण समाजमा हिंसा पीडित हुनु पर्ने अवस्था सदाको लागि अन्त्य होस् भन्ने वक्ताहरूले कामना गरे । उनीहरूले महिला हिंसाको अधिकांश घटना घरभित्रबाटै हुने गरेको दाबी गरे ।

धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उप(प्रमुख बङ्गला राई, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमली, प्रहरी प्रमुख गोविन्द अधिकारी, सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म नेपालका प्रमुख रामचन्द्र श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जाल धनकुटाकी अध्यक्ष पार्वती राई, पारालिगल धनकुटाकी अध्यक्ष कोपिला शङ्करलगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म आयोजना हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा यो वर्षको राष्ट्रिय नारा भने लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको प्रतिबद्धता भन्ने रहेको छ ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीले प्रकाश पारेकी थिइन् । सो अवसरमा महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले स्थानीय मदनचोकमा दीप प्रज्वलनसमेत गरेको थियो ।

दीप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीलगायत सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरू, विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।