ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै गरेकाे पिकअप भ्यान इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय चालक सूर्य केसी र ३३ वर्षीया जमुन रोक्का रहेका डिएसपी सूर्य थापाले बताएका छन् ।

चार जना सवार लु १ च ९७३१ नम्बरको उक्त भ्यान आज बिहान करिब ५ बजेर ३० मिनेटमा  सडकबाट झन्डै ६० मिटर तल त्रिशूलीमा खसेको डिएसपी थापाले बताएका छन् । थापाका अनुसार बिरामी १५ वर्षीया जिनिसा रोक्का अझै बेपत्ता रहेकी छिन् भने दुर्घटनामा घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता जिनिसाकाे सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयबाट खटिएकाे टाेलिले खाेजि कार्य गरिरहेकाे छ ।