भद्रपुर/भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको स्तोरन्नतिको लागि चलखेल शुरु भएको छ । विमानस्थलका उत्तर र दक्षिण क्षेत्रका स्थानीयले आ–आफनै अडान राखेपछि चलखेल सतहमा आएको हो ।

चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै उत्तर तर्फका स्थानीयले सङ्घर्ष थालेका छन् ।

पछिल्लो डिपिआर अनुसार उत्तरपट्टि मूल गेट सहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने गरी कार्ययोजना तयार भएपछि दक्षिणपट्टिका स्थानीयले प्रमुखद्वार सार्नु नहुने अडान राखेका कारण काम अगाडि नबढेको भन्दै उत्तरी क्षेत्रका बासिन्दाले सङ्घर्ष थालेपछि यस्तो समस्या बाहिर आएको हो ।

स्थानीय हिराप्रसाद पोखरेलको संयोजकत्वमा २१ सदस्यीय चन्द्रगढी विमान स्थल बचाउ सङ्घर्ष समिति समेत गठन गरिएको छ ।

गठित समितिको सह संयोजक गोमा भट्टराई, सचिव महेन्द्र खतिवडा, सहसचिव निरज पोखरेल, सदस्यहरूमा क्रमश राजेन्द्र रिजाल, कमला कार्की, पुरूषोत्तम अधिकारी, इशुभ पाण्डे, लावण्य पोखरेल, रमेश पोखरेल, डिल्लीराम पोखरेल, शुशिला बस्नेत लगायत समिति निर्माण भएको हो ।

भेलाले दक्षिणपट्टिको मूल प्रवेशद्वार तथा प्रशासनिक भवन उत्तरमै निर्माण हुनु पर्ने आवाज बुलन्द गर्न गठित समितिलाई अधिकार प्रत्यायोजन समेत गरेको छ ।

कार्यक्रममा भद्रपुर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, महिला नेतृ शुशिला बस्नेत, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले सम्बोधन गर्दै चन्द्रगढी विमान स्थलको स्तर बृद्धि कुनै बाहनामा रोक्नु नहुने भन्दै डिपिआर अनुसार अबिलम्ब काम थालिनु पर्ने माग राखेका थिए ।

यता दक्षिण तर्फका स्थानीयले जनप्रतिनिधि तथा स्थानीय सङ्घ–संस्था, सरोकारवाला पक्षसँग समन्वय नगरी टर्मिनल भवन र मुख्य प्रवेशद्धार सार्न चलखेल शुरु भएको प्रति सरोकारवालाले आपत्ति जनाएका हुन् । सो विषयको विरोधमा यहाँका स्थानीयले चन्द्रगढी विमानस्थल सरोकार एवम् संर्घष समिति समेत गठन गरेका छन् ।

विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउँदा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तर पट्टी सार्न खोजिएको भन्दै त्यसको विरोधमा उनीहरुले सङर्घष समिति गठन गरेका हुन् । रुद्रप्रसाद चुडालको संयोजकत्वमा १३ सदस्य सङ्र्घष समिति गठन गरिएको छ । समितिले टर्मिनल भवन र मुख्य प्रवेशद्वारको विषयमा ध्यानाकर्षण गराउँदै केही दिन अघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई लिखित रूपमै ज्ञापनपत्र बुझाइसकेका छन् ।

जिल्लाको भद्रपुर नगरपालिका ८ स्थित चन्द्रगढी विमानस्थल वि.सं.२०२१ सालमा सञ्चालनमा आएको हो । घाँसे मैदानबाट उडान सुरुवात गरेको विमानस्थल अहिलेको अवस्था सम्म आइपुग्दा विकासे गतिविधिले फड्को मारेको छ । करिब एक वर्षअघि चन्द्रगढी विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर बिर्तामोडमा यहाँका स्थानीय तथा जनप्रतिनिधिलाई जानकारी नगराई डिपीआर पेस गरी अहिलेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरतर्फ सार्ने डिजाइन पेस गरिएको थियो ।

डिपीआरमै भवन र प्रवेशद्वार सार्ने खोजिएको डिजाइन बाहिर ल्याएसँगै त्यसको विरोधमा भद्रपुरवासी उत्रिएका थिए । स्थानीय विरोधमा उत्रिएपछि प्रवेशद्वार र भवन नसार्ने भनी विमानस्थलले आश्वासन दिएपछि माहौल शान्त भएको थियो । तर, अहिले फेरि क्षेत्रीय स्तरको विमानस्थल बनाउन खोज्दा भवन र प्रवेशद्वार सार्ने भनी चलखेल शुरु भएको थाहा पाएपछि स्थानीयले सङ्र्घष समिति गठन गरेको स्थानीय किशोर कोइरालाले जानकारी दिए ।

विगत देखि दक्षिणतर्फ रहिआएको प्रवेशद्वार र टर्मिनल भवन उत्तरतर्फ सारिएको अवस्थामा यसको प्रत्यक्ष ठुलो असर भद्रपुरसहित क्षेत्र नम्बर ३ का बासिन्दालाई पर्ने उनको भनाइ छ । स्थानीय तहमा विषयगत कार्यालयहरू गएसँगै अहिले नै जिल्लाको सदरमुकाम सुनसान हुने गरेको र विमानस्थलको गेट सारिएमा यहाँको व्यापार व्यवसायमा असर पर्नुका साथै चन्द्रगढीको लेखनाथ चोकदेखि एसपी मोडसम्म मसानघाटको झझल्को आउने निश्चित भएको उनको धारणा थियो । कुनै प्राविधिक कारण बिना हचुवाको भरमा स्थानीय बासिन्दाहरूसँग सल्लाह नै नगरी भुमाफियाको दबाबमा परेर पेलेर नै लाने रणनीति अनुसार काम भइरहेको स्थानीयले महसुस गरेको उनले आरोप लगाए ।

यसअघि पनि विमानस्थलको स्तोरन्नतिका लागि तयार पारिएको प्रस्तावित डिपीआरमा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तर पट्टी सार्न खोजिएको विरोधमा भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा, जिल्ला प्रशासन कार्यालय झापा र चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमै ज्ञापनपत्र बुझाएका थिए ।

वडा अध्यक्ष गौरव सुब्बा (मनोज) को नेतृत्वमा गएको टोलीले तत्कालीन अर्थमन्त्री खतिवडालाई झापाका प्रमुख जिल्ला अधिकारी र चन्द्रगढी नागरिक उड्डयन कार्यालयका ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै झापा उद्योग सङ्घ र झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरले यसअघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सोही विषयमा ज्ञापनपत्र बुझाइसकेका छन् । भद्रपुरबासीको सहमति विपरीत विमानस्थलको स्तोरन्नति नहुने चन्द्रगढी नागरिक उड्डयन कार्यालय प्रमुख मुरारी प्रसाद पौडेलले बताए । गेट सार्ने विवाद भन्दा पनि भद्रपुरमा रहेको विमानस्थललाइ कस्तो बनाउने भन्ने मुख्य कुरा रहेको उनले जनाए । स्थानीय स्तरमा छलफलको अभाव भएकोले भद्रपुरबासीको छलफल जरुरी रहेको उनको भनाइ छ । डिपिआर सार्वजनिक भएपनि अन्तिम टुङ्गो लागिनसकेको उनले जानकारी दिए ।