पथरी/ मोरङको पथरीशनिश्चरे –६ स्थित हसन्दह बजारमा प्रहरी चौकी स्थापना हुने भएको छ । हसन्दह चौकी स्थापनाको लागि प्रहरी प्रधान कार्यालयबाट इलाक ाप्रहरी कार्यालय पथरीमा पत्रआए पछि प्रहरी चौकी स्थापना हुने भएको हो ।

चौकी स्थापना हुने पत्र आइसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपि दिलिपकुमार गिरीले बताए । साबिक हसन्दह गाबिसमा प्रहरी चौकी स्थापना गर्न दशक अघिदेखी प्रयास भइरहे पनि सफल हुन ससेको थिएन । हसन्दह बजार इलाका प्रहरी कार्यालय पथरीको क्षेत्र अन्तर्गत पर्दछ । यस अघि हसन्दह क्षेत्र प्रहरी चौकी कुसेचौरीले हेर्दै आएका थिए ।

कुसेचौरी प्रहरी कार्यालयको भूगोल ठूलो भएकोले आकस्मिक अवस्थामा दक्षिणी क्षेत्र तत्काल प्रहरी पुग्न समस्या हुँदै आएको थियो । तत्कालीन माओवादी द्वन्द्व अन्त्यसँगै हसन्दहमा प्रहरी चौकीको माग हुँदै आएको थियो । चौकी स्थापना माग गर्दै स्थानीयबासीले त्यहाँ दुई कोठे पक्की भवन निर्माण गरिसकेका छन । भवन पाँच कट्ठा जग्गामा रहेको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख दिलिपकुमार गिरीलगायतको पछिल्लो पहलमा चौकी स्थापनाहुने भएको हो । चौकी स्थापनाको लागि भवन पेन्टिङ (रंग रोकन), खाटको ब्यबस्थापन, सरसफाई, बिद्युतवाइरिङ, पानीको लागिकल गाड्नुको साथै किचन निर्माण भइसकेको डीएसपी गिरिले बताए ।

मंसिर १५ सम्ममा १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआइजी ईस्वरबाबू कार्कीलगायतको उपस्थितिमा चौकी स्थापना भइसक्ने डीएसपी गिरीले बताए । इलाकामा प्रहरी कार्यालय पथरी मतहतमा साबिक बयरबन (हाल कानेपोखरी गापा)को रमाइलोमा रमाइलो चौकी, कानेपोखरी प्रहरी चौकी, शनिश्चरेमा कुसेचौरी प्रहरी चौकी रहेको छ । हसन्दहसँग इलाकाअन्तरगत चार वटा चौकी रहने भएको छ ।

चौकीमा प्रहरी सहायक निरिक्षक (असई)को नेतृत्वमा दुई जना हवल्दारसहित १५ जना प्रहरी रहने ब्यबस्था छ । यो क्षेत्रमा जुवाजन्य खेल, चोरी तथा भन्सार छलिएको सामान लुकिछिपी आउने गरेको प्रहरीको भनाइ छ ।

पूर्बी मोरङमा इलाका प्रहरी कार्यालय पथरीमा डीएसपीको दरबन्दी रहेको छ । करिव एक बर्ष अघि पथरी इलाका प्रहरी प्रमुख भएर आएका डीएसपी दिलिपकुमार गिरी मोरङ जिल्ला प्रहरीले उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गर्नुको साथै प्रहरी प्रधान कार्यालयले पनि भर्खरै उत्कृष्ट प्रहरी ब्यबस्थापकको रुपमा सम्माण गरेको छ ।