धरान/विश्व साइकल यात्री पुष्कर साहको नेतृत्वमा ‘मेची–महाकाली साइकल यात्रा’ मा निस्किएका साइकल यात्रीलाई धरानमा स्वागत गरिएको छ ।

नेपाल साइकल उत्सव २०२० को नारा दिएर मेची महाकाली यात्रामा निस्किएको टोलीलाई आइतबार धरानमा स्वागत गरिएको हो । विभिन्न जिल्लाका २० जना साइकल यात्री १९ दिन लगाएर धरान आइपुगेका थिए । कात्तिक १७ गते महाकालीबाट सुरु भएको साइकल यात्रा मङ्सिर ११ गते मेचीको श्रीअन्तुसम्म पुग्ने आयोजकले जनाएको छ ।

सुनसरी साइक्लिङ एशोसिएसन र कार्यक्रम संयोजक याक्थुङ सिङ्गक फाउण्डेशनका पदाधिकारीले साइकल यात्रीलाई स्वागत गरे । यात्रीहरूलाई ओशो आश्रम धरान–२० मा बासस्थानको प्रबन्ध गरिएको थियो । साइकल यात्रीहरूलाई ओशो आश्रमका सन्यासी आनन्द श्रेष्ठले धरानमा पर्यटकीय क्षेत्रको परिचयका साथै ओशो आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।

विश्वका १ सय ५० वटा देश घुमिसकेका पुष्कर साहले कोभिड–१९ को कारण घरैमा खुम्चिएर बस्नुपरेका देशका युवाहरूलाई महामारीप्रति जागरुक गराउँदै कर्तव्य पथमा उत्साहित तुल्याउन यो साइकल यात्राको आयोजना गरेको बताए । त्यस क्रममा लाङ्घाली सामुदायिक वन परिसरमा राखिएका सडक मानवहरूको सहयोगका लागि साइकल यात्रीहरूले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।